लगातार ६ पटक सम्म छोरी जन्मेपछि झनमायालाई घरबाट निकालियो

पुस, ८ जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् । 

२६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताईन् । श्रीमान्ले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छिन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताईन् । 

झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको उनले बताईन् । अस्पतालले अन्य बाहिर जिल्ला लैजान सिफारिश गरेपछि कहाँ र कोसँग जाने भन्ने चिन्ताले सताएको झनमायाले बताईन् । 

null

सानै उमेरमा बिहे गरेकी उनले छ सन्तान जन्माएको र तीन मात्रै जीवित रहेको दुखेसो गरिन् । पहिलो सन्तान छोरी जन्मदा मरेको जन्मिएको र त्यसपछि गर्भवती हुँदा गर्भ परीक्षण गर्दा छोरी देखिएपछि दुई छोरी श्रीमान्को दबाबमा गर्भपतनसमेत गरेको उनको भनाइ छ । 

“पटक–पटक छोरी जन्माएपछि निकै दुःख पाएँ” झनमायाले भनिन् , “श्रीमान् आफ्नो नभएपछि परिवारले पनि राम्रो गरेनन्, आफ्नो कोही भएनन् ।” गर्भको शिशु उल्टो छ भन्ने थाहा पाएपछि वृद्ध बुबाको सहारामा अस्पताल पुगेकी उनले जन्मदै छोरी रोगी जन्मिएपछि झन् पीडा थपिएको बताईन् । 

कसैको सहयोग पाए छोरीलाई हेपटाइटिस ‘बी’ को खोप लगाउने र नभए उपचार नै नगरेर अस्पतालबाट जानुपर्ने स्थिति रहेको उनले  बताईन्। छोरा नजन्माएको भन्दै आफूलाई घरबाट लखेट्ने श्रीमान् भने कहाँ छन् भन्ने पत्तोसम्म नभएको झनमायाले बताईन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *