वाग्मती सफाइ महाअभियान २९५औँ हप्तामा – पुसको चिसोमा अभियानकर्मी नदी किनारमा

काठमाडौँ, २१ पुस । पुस महिनाको बिहान ७ बजेको चिसोमा उपत्यकाका नदी किनार र चक्रपथका विभिन्न स्थानमा मानिसको भीड हुन्छ । उपत्यकालाई स्वच्छ बनाउने उद्देश्यले अभियानकर्मी जाडोको प्रवाह नगरी स्वतःस्फूर्त सफाइमा जुट्ने गरेका छन् । 

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी अभियानकर्मीले २७ मेट्रिक टन फोहर व्यवस्थापन गरेका छन् । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको छ । 

वाग्मती सफाइ महाअभियानको २९५औँ हप्तामा ललितपुरतिरको कुपण्डोल पुल मुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा वाग्मती सफाइको नेतृत्व कर्ता पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुर महानगरपालिका–२ र १० एवं काठमाडौँ महानगरपालिका–११ का निर्वाचित जनप्रतिनिधिलगायतको सहभागिता थियो । 

null

सफाइमा मुक्तिनाथ विकास बैङ्कको वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृतले डोको, मास्क, पन्जालगायत सफाइ सामग्री उपलब्ध गराए । सफाइमा २० संस्थाका ५०० अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । 

गुह्येश्वरीमाथिको नदी सफाइको २५६औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नामी माकालबारी टोलअघिको नदी किनारमा सफाइ गरियो । नगरपालिका–८ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमिनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारमा सफाइमा नआउन समेत आह्वान गरेको छ । 

कार्यक्रममा गोकर्णेश्वरका प्रमुख सन्तोष चालिसेले सफाइमा नगरपालिकालाई नमुना बनाइने प्रतिबद्धता जनाए । सो अवसरमा वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले घरको फोहर नदीमा नफाले सभ्यताका स्रोतका रूपमा रहेका नदीलाई पुरानै अवस्थामा फर्काउन सकिने बताए । सफाइमा मानवअधिकार तथा शान्ति समाजलगायत संस्थाको सहभागिता थियो । 

रुद्रमती सफाइ अभियानको २५० हप्तामा रातो पुल–कालो पुल–मैतीदेवी मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । सफाइमा चीनका लागि नेपाली राजदूत पौडेलले वडाको नेतृत्वमा नदी एवं सार्वजनिकस्थलमा फोहर फाले कडा कारबाही गरिनुपर्ने बताए । काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० जना अभियानकर्मीको सहभागिता रहेको रोहित गिरीले जानकारी दिए । विष्णुमती सफाइ अभियानको २२२ हप्तामा तारकेश्वर–१० स्थित लोकतान्त्रिक चोक क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए । वाग्मतीको तिल गङ्गा क्षेत्रमा १९७औँ हप्ताको सफाइ तिल गङ्गा महिला समूह र आदर्श सेवा नव जीवन केन्द्रको सक्रियतामा गरियो । तिल गङ्गा आसपासको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०५औँ हप्ताको सफाइ गरियो । सय भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । यस्तै मनोहर नदी सफाइको ९५औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

कार्यक्रममा पूर्व मुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, सहरी विकास सचिव रमेशप्रसाद सिंह लगायतको सहभागिता थियो । चक्रपथ सफाइ अभियानको ९१औँ हप्तामा सामाखुसी चोकबाट ग्रिन सिटी अस्पतालसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिए। 

आलोक नगर सफाइको ९१औँ हप्तामा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमीला पौडेलले जानकारी दिए । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रूपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारिता हुन सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *