नक्कली सुन दिई ४० लाख ठगी गर्ने गिरोह पक्राउ
काठमाडौँ, १९ पुस । सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिई रु ४० लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा काठमाडौँ टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा जनकपुर नगरपालिकाका मनिष ढुङ्गाना, काठमाडौँ काँडाकारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् ।
यसै गरी, काठमाडौँ बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र सङ्गीता राई, काठमाडौँ बौद्ध बस्ने पर्साका सन्तोषकुमार लामा, काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा, बाराका सुरेश राई र निजगढका सागर राईलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले आज जानकारी दिएको छ ।
null
उनीहरूले एक किलो नक्कली सुन दिई उक्त रकम ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो । सो घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।