प्रधानाध्यापकमाथि अनियमितताको आरोप
पुस १८, कैलाली । प्रधानाध्यापकको ढिलासुस्तीले कैलालीको एक सामुदायिक विद्यालयको शिक्षक छनौट प्रक्रिया अनिश्चित बन्दै गएको छ । विज्ञापन प्रकाशित गरेको महिनौं बितिसक्दा समेत सम्बन्धित विद्यालय प्रअले ध्यान नदिएपछि छनाैट प्रक्रिया लम्बिदै गएको हो ।
जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित जगदम्बिके भगवती माविको शिक्षक छनौट प्रक्रिया अनिश्चित हुँदै गएको स्रोतले बताएको छ । विज्ञापन प्रकाशित गरिएको साढे चार महिना बितिसक्दा समेत प्र.अ. नेत्र बहादुर खड्काले चासो नदिएपछि शिक्षक छनौट प्रक्रिया सुरु हुन नसकेको र आवेदन दिएका शिक्षकमा समेत परिक्षा र छनौट प्रक्रिया कहिले हुन्छ ? भन्नेमा अन्यौलताको स्थिती देखिएको छ ।
शिक्षा बिभागले गएको असार २२ गते परिपत्र जारी गर्दै प्राथमिकता क्रम निर्धारण गरि बजेट रकम निकासा दिनका लागि ७७ वटै जिल्लामा निर्देशन गरेको थियो । सोही बमोजिम अनुदान रकम निकासा भएपछि विद्यालयले गएको साउन ३० गते मावि तहमा अंग्रेजी विषय शिक्षण गर्न शिक्षकको आवश्यकता सम्बन्धी बिज्ञापन प्रकाशन गरेको थियो ।
null
नेपाल सरकारबाट निकासा मावि तहको शिक्षण सहयोग अनुदानमा तलब सेवासुविधा पाउँने गरि विज्ञापन प्रकाशित गरेको थियो । शिक्षा नियमावली २०५९ परिच्छेद १७ को दफा ९६ (क) बमोजिम सामुदायिक विद्यालयको अनुदान वा करारमा शिक्षक नियुक्ति सिफारिस गर्न ५ सदस्य छनौट समिति रहने प्रावधान छ ।
सरकारी अनुदानमा शिक्षकको नियुक्ति गर्दा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको सदस्य छनौट समितिको अध्यक्ष, सम्बन्धित विद्यालय निरिक्षक वा जिल्ला शिक्षा अधिकारीले तोकेको अधिकृत सदस्य, गाउँपालिकाको प्रतिनिधि र शिक्षाशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उत्तीर्ण मध्येबाट महिला समेत रहने गरि २ जना विषयविज्ञ सदस्य र प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ । तर हालसम्म छनौट समिति समेत गठन गरिएको छैन ।
विज्ञापन अनुसार सोही विद्यालयमा कार्यरत भुपेन्द्र बहादुर रास्कोटीको मात्रै एकल निवेदन परेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर चौधरीले शिक्षक आवश्यकता सम्बन्धी सूचना जारी नगरेको जिकिर गरे । पत्रकारसँगको कुरामा उनले भने, “शिक्षक नियुक्त गर्ने निर्णय भएको हो । सूचना नै जारी गरेको छैन ।” तर यस विषयमा धेरै सोधी खोजी गर्दा उनले सूचना जारी भएको स्वीकार गरे । विद्यालयमा महायज्ञ लगायतका काममा व्यस्त भएकोले ढिलाई भएको बताए ।
उनको दोहोरो कुराबाट के पुष्टि हुन्छ भने शिक्षक नियुक्ति ढिलाई हुनुमा अध्यक्षको पनि साथ छ । सुरुमा त उनले सुचना नै जारी नगरेको जिकिर गरे । यसबाट भित्र भित्रै सेटिङ मिलाउने कुनै तयारी हुँदै गरेको पनि अनुमान गर्न सकिन्छ । अर्को विद्यालयले सूचना जारी गर्दा एक जनाको मात्रै आवेदन पर्नुलाई पनि कतिपयले शंकाको रुपमा हेरेका छन् । बिद्यालय प्रधानाध्यापकको मनोमानी निर्णयले अनुदान रकममा समेत अनियमितता हुन सक्ने आशंका देखिएको छ ।
प्रधानाध्यापकमाथि आरोपै आरोपप्रधानाध्यापकले विद्यालयका विभिन्न काममा अनियमितता गरेको आरोप स्रोतको छ । यसअघि निकासा भएको मावि तहको शिक्षण सहयोग अनुदान बापतको वार्षिक ३ लाख २५ हजार ७ सय १४ रुपैयाँ रकम समेत नियम बिपरित प्रावि र नि.मा.वि तहका नीजिस्रोत शिक्षकलाई तलब खुवाएको बुझिएको छ ।
विद्यालय व्यवस्थापन समितिले उक्त खर्च शिर्षक रकम पछि सोधभर्ना गर्ने गरि तत्काल तलब खुवाउने निर्णय गरेको भएपनी अहिलेसम्म सोधभर्ना समेत नगरिएको स्रोतको भनाइ छ । शैक्षिकसत्र २०७४ सालको आधारभूत तह (कक्षा ८) को अन्तिम उत्तीर्ण परीक्षामा सहभागि नै नभएका ३ जना विद्याथीलाई प्र.अ.ले परीक्षाको हाजिरी मिलाएर प्रमाणपत्र दिएको स्रोतको दावि छ ।
आर्थिक वर्ष २०७२ र ०७३ मा जिल्ला शिक्षा कार्यालय कैलालीबाट निकासा भएको विज्ञान प्रयोगशाला अनुदान रकम रु ६ लाख ५० हजारको चेक लिएर प्र.अ.ले ९० हजार १ सय २७ हजार रुपैँया अनियमितता गरेको आरोप छ । उक्त रकमको हालसम्म पनि बिल भरपाई नभएको स्रोतको दावि छ ।
त्यस्तै आ.व. २०६९ र ०७० मा भवन निर्माण र शौचालय निर्माणमा फर्जी बिल मिलान गरि असुली देखाएर अनियमितता गरेको आरोप स्रोतको छ । तत्कालीन विद्यालय व्यवस्थापन अध्यक्ष डिला रानामगरको कार्यकालमा नै प्र.अ. खड्काले राजिनामा दिएको र विव्यसबाट उक्त राजिनामा २०७२ बैशाख २७ मा स्वीकृत भैसकेको भएपनि शिक्षा नियमावली विपरित पदमा बहाल रहेको समेत स्रोतले दावि गरेको छ ।
प्रा.वि. तह महिला राहत शिक्षक कुमारी भजन सोडारीको नाममा हाजिरी किर्ते दस्तखत मिलान गरि तलब निकासा गरि अनियमितता गरेको भन्दै यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । उजुरीपछि प्र.अ.लाई लिखित स्पष्टीकरणकालागि समेत बोलाइएको स्रोतको दावि छ ।