युएई जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइः पारसले भने, ‘जित्नका लागि तयार छौँ’

 

माघ ८, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) संगको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि युएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । 

युएईतर्फ प्रस्थान गर्ने पारस खड्काको कप्तानीमा रहेको १६ सदसीय खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले मंगलबार बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा बोल्दै सदस्यसचिव केशव कुमार विष्टले चुनौती, अभाव र अन्योलताकाबीच नेपाली क्रिकेटले पाएको सफलताबाट ठुलो आशा गरिएको बताए । 

null

कप्तान पारस खड्काले यस पटक युएई विरुद्ध ३ खेलको ओडिआई सिरिज जित्दै पहिलो ओडिआई सिरिज हात पार्ने बताए । ‘हामी पहिलो ओडिआई सिरिज जित्न चाहन्छौँ र त्यसका लागि तयार पनि छौँ’, बिदाइपछि पारसले भने। नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्दैछ । नेपालले युएईसंग पहिले एकदिवसीय सिरिज खेल्नेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ । यस्तै माघ १७, १८ र २० मा टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज दुबईमा हुनेछ । 

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अविनाश बोहरा, बसन्त रेग्मी, भिम सार्की, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा छन् भने वैकल्पिक खेलाडीमा सुशन भारी, ललित भण्डारी र बिक्रम सोब रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *