पर्यटनमन्त्रीले जिम्मेवारी लिनैपर्छ, कमजोरीबाट भाग्न मिल्दैनः छानबिन उपसमिति
पुस २०, काठमाडौँ । वाइडबडी खरिद प्रकरणमा भएको अनियमितता सम्बन्धी छानबिन गर्न गठन भएको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीले यसको जिम्मेवारी लिनुपर्ने बताएकाे छ ।
छानबिन उपसमितिका संयोजक राजन केसीले नेपाल वायु सेवा निगम नै सर्वेसर्वो भएको भन्दै निगमको काममा मन्त्रीले पनि जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।
null
शुक्रबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा संयोजक केसीले महालेखा परीक्षकको प्रतिवेदनले गल्ती औल्याइसकेको अवस्थामा मन्त्री अधिकारीले रकम भुक्तानी गरेको स्वीकार गरेको जानकारी गराए । ‘मन्त्रीले जिम्मेवारी लिनुपर्छ । विमान आउँदा मैले ल्याएँ भन्ने अनि कमजोरीबाट भाग्ने ?’, भन्दै उनले प्रश्न गरे ।
केसीले प्रतिवेदनमाथि भएको टिप्पणीले दुःख लागेको भन्दै इमान्दारिता र निष्ठामा प्रश्न नगर्न पनि आग्रह गरे ।
त्यस्तै समितिका सदस्य प्रेम आलेले दलभन्दा माथि उठेर प्रतिवेदन तयार पारेको बताए । उनले भने, ‘हामीले जे देखेका छौं, त्यही राखेका छौं । कुनै पनि राजनीतिक पूर्वाग्रह राखिएको छैन।’