भरतपुरलाई स्मार्ट सिटी बनाउन प्रक्रिया सुरु
पुस २०, भरतपुर । स्थानिय तहको चुनाबको समयमा खुब चर्चा थियो, स्मार्ट सिटीको । सबै उम्मेदवार देखि कार्यकर्ता सम्मले स्मार्ट सिटीको चर्चा गर्थे, अब यो चर्चा चर्चामा मात्र रहेन, त्यसको प्रारम्भ समेत सुरू भएको छ ।
शहरी विकास मन्त्रालयले देशका २० वटा शहरलाई स्मार्ट सिटी बनाउन गृहकार्य सुरू गरेको छ । २० सहर मध्ये भरतपुर महानगर पनि एक हो । भरतपुर महानगरपालिकाले सहरी विकास मन्त्रालयको सहयोगमा स्मार्ट सिटी बनाउने गृहकार्य प्रारम्भ गरेको छ ।
यसका लागि महानगरले आज शुक्रबार घरधुरी सर्वेक्षणका लागि महानगरपालिकाले गणकहरु खटाएको छ । भरतपुर महानगरका २९ वडामा घरधुरी सर्वेक्षणका लागि १०५ जना गणकहरु खटिएका छन् । वडाको जनसंख्याको आधारमा गणकहरु खटिनेछन् । ‘भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउन अब प्रारम्भ भएको छ, गणकहरुले घरघुरी सर्वेक्षण गर्नेछन् ।
null
सर्वेक्षणपछि आएको प्रतिवेदनका आधारमा स्मार्ट सिटीका योजनाहरु अघि बढ्नेछन्’, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भनिन्, ‘सहरी विकास मन्त्रालयले भरतपुरलाई स्मार्ट सिटी बनाउनका लागि चालेको कदमलाई हामी साकार पार्नेछौँ ।’ घरधुरी सर्वेक्षण गर्दा गणकहरुले एक सयवटा प्रश्नको जवाफ लिनेछन्, जहाँ पेसादेखि जमिन सम्म, सरसफाइदेखि कमाइ सम्मका सम्पूर्ण पारीवारिक बिवरण गणकहरुले लिनेछन् । सोही सर्वेक्षणका आधारमा तयार पारिएको प्रतिवेदन अनुसार शहरी विकास मन्त्रालयले स्मार्ट सिटीको अवधारणा अघि बढाउने छ ।
भरतपुर महानगरले फागुन १८ गतेसम्म घरधुरी सर्वेक्षण सक्ने लक्ष्य लिएको छ । ‘झन्डै २ महिनाको अवधीमा सर्वेक्षण सक्नेछौँ, त्यसपछि डेढरदुई महिनामा प्रतिवेदन तयार हुनेछ, अनि गुरूयोजना बनाएर स्मार्ट सिटीको अवधारणा अनुसार कामकारवाही सुरू गर्नेछौँ’, सर्वेक्षणकी फोकल पर्सन तथा महानगरकी इन्जिनियर अस्मिता खनालले भनिन् । गणकहरुमा ८० जना महिला र बाँकी पुरूष छन् । वडाको जनसंख्या हेरेर एउटा वडामा दुई जनादेखि ८ जनासम्म गणकहरु खटिनेछन् ।
सक्षम गणकहरुलाई तथ्यांक संकलनका लागि खटाइएको इन्जिनियर खनालले बताइन् । भरतपुर महानगरपालिकाका वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले स्मार्ट सिटीको पहिलो खुट्किलो तयार भएको बताए । उनले गणकहरुले तयार पारेको सर्वेक्षणकै आधारमा स्मार्ट सिटीको रुपरेखा कोरिने बताए । गणक स्वर्ण न्यौपाने र विनय पौडेलले वास्तविक सत्यतथ्य तथ्यांक संकलन गर्ने जानकारी दिए ।
के हो स्मार्ट सिटी ?संयुक्त राष्ट्रसंघ आर्थिक र सामाजिक परिषद्का अनुसार ‘स्मार्ट सिटी’को सर्वस्वीकार्य परिभाषा छैन । विकासको तह एवं सामाजिक र आर्थिक विकासका आधारमा बिभिन्न राष्ट्रले आफ्ना शहरलाई ‘स्मार्ट सिटी’को परिभाषामा ल्याएका छन् ।
सूचना प्रविधीको अधिकतम प्रयोग गरेर विकसित शहरी पूर्वाधार विकास गरेपछि त्यसलाई ‘स्मार्ट सिटी’ नामकरण गर्न सकिने विज्ञहरु बताउँछन् । न्यूनतम पूर्वाधार विकास गरेर सबै खाले काम सूचना प्रविधी मार्फत गर्न सकिएमा त्यसलाई ‘स्मार्ट सिटी’ मान्न सकिन्छ । धेरै जनतालाई मितव्ययी र व्यवस्थित ढंगले सेवासुबिधा समयमै प्रवाह गर्न सकिने व्यवस्था सहितको सहर नै ‘स्मार्ट सिटी’ हुने इन्जिनियर खनालले बताइन् । उनले भनिन्, ‘स्मार्ट सिटीमा चारवटा पिल्लर हुन्छन्, ती हुन– स्मार्ट पूर्वाधार, स्मार्ट सरकार, स्मार्ट जनता र स्मार्ट प्रविधी ।’