छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै दुई छोरीले गरे आमाको किरिया
पुस १८ लमही । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उहाँकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बसेका छन् ।
छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरीमध्ये जेठी र माइली छोरी किरियामा बसेका हुन् । आमा विकको १५ गते सोमबार निधन भएको र किरिया गर्ने कोही नभएपछि छोरीहरूले नै दागबत्ती दिएका हुन्, किरिया पनि छोरीहरूले नै गरेका छन् ।
null
उनको आमा ताराको मङ्गलबार शीतलपुर घाटमा अन्त्येष्टि गरिएको हो । मृतकको श्रीमान् हिरालाल विदेशबाट घर फर्केको १० दिनपछि दमका कारणले ताराको निधन भएको थियो । समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफूहरू किरिया बसेको आरधनाले बताए । उनले भने “छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई पनि दिनुभएको छ”, “त्यसैले छोराहरूले गर्न सक्ने काम हामीहरू पनि गर्न सक्छाँै भन्ने लागेर किरिया बसेका हौँ ।”
समाजले काजकिरियाका लागि घरभन्दा बाहिरका दाजुभाइलाई ल्याउने तयारी गरेको भए पनि आफ्नो आमाको किरिया छोरीले नै गर्नुपर्छ भनेर किरिया बसेको उनको भनाइ छ । उनीहरूले किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै गर्दै आएका छन् । तर समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ ।