१३ औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै स्थगित

माघ ७, काठमाडौँ । नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३ औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ । 

साग आयोजनको मुख्य स्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अझै तयार भइनसकेकाले आगामी मार्च महीनाका लागि तय भएको साग सर्ने निश्चित भएको छ । सरकार मातहत गठित १३औँ साग आयोजना सचिवालयबाट एनओसीलाई पत्र प्राप्त भएको उल्लेख गर्दै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पूर्वाधार निर्माणलगायत कारण प्रतियोगिता छ महिना सार्न पत्र प्राप्त भएको जानकारी दिए । 

अध्यक्ष श्रेष्ठले भने, “राष्ट्रिय खेलकूद परिषद्बाट पत्र प्राप्त भएको अब यो विषयलाई दक्षिण एशियाली ओलम्पिक काउन्सिलमा छलफल गर्नेछौं ।” दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका श्रेष्ठले सागको नयाँ तिथिका बारेमा छलफल गर्न यही महीना बैठक राख्ने प्रयास गरे पनि अन्य पदाधिकारीको व्यवस्थाका कारण सफल नभएकाले अब मार्चमा बैठक बसी यसबारे निर्णय गर्ने बताए । 

null

सागरको मिति सार्ने विषयमा काउन्सिलका सबै सदस्य राष्ट्रको सहमति जुट्न आवश्यक हुन्छ । १३ औँ सागमा ह्यान्डबल, जुडो, कबड्डी, खो–खो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबल टेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट र प्याराग्लाइडिङ, आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल गरी २७ खेल समावेश गर्ने यस अघि नै निर्णय भइसकेको छ । 

यसैबीच पूर्वाधार अभावकै करण मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद समेत पटक पटक सर्दै आएको छ । प्रदेश नंं ५ मा हुने तय भएको उक्त प्रतियोगिता आगामी फागुनमा गर्ने सहमति भए पनि अझै मिति टुङ्गो लाग्न सकेको छैन । प्रतियोगिता आयोजना गर्ने विषयमा राखेपकै पदाधिकारीबीच एकमत नहुँदा प्रतियोगिता कहिले गर्ने भन्ने टुङ्गो लाग्न नसकेको राखेप सञ्चालक समितिका एक सदस्यले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *