नख्खु बम विस्फाेट प्रकरणः विप्लवका तीन कार्यकर्ताविरुद्ध म्याद थप

 

फागुन १३, काठमाडौँ । ललितपुरको नख्खुस्थित एक जनाको ज्यान लिनेगरी भएको बम विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेको ६ जनामध्ये तीन जनाको म्याद थप गरी प्रहरीले अनुसन्धान गर्ने भएको छ । 

नियन्त्रणमा लिएका विप्लवका तीन कार्यकर्ताविरुद्ध म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडी बढाएको हो । 

null

प्रहरीले कालिकोटको रासकोट नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२३, धापाखेलमा बस्ने २० वर्षीय मानबहादुर तिरुवा, ललितपुरकै भैंसेपाटी बस्ने वर्ष २६ का सुदिन थापा र सोही ठाउँ बस्ने २८ वर्षीय सुदन थापाविरुद्ध ललितपुर जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान गर्ने भएको हो । 

ललितपुरस्थित एनसेलको कार्यालयलाई लक्षित गरी भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लवले लिइसकेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि आइतबार विप्लवले सत्ता हडप्न तथा लगानी सम्मेलन भाँड्न बम विस्फोट गराएको दाबी गरेका थिए । 

यस्तै बम विस्फोट प्रकरणमा प्रहरीले एनसेल कार्यालयका दुई सुरक्षा गार्डको पनि बयान लिने क्रम जारी राखेको छ । उनीहरुलाई भने हाजिरी जमानीमा राखेर बयान लिने, कल डिटेल र अन्य विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ । 

सिसिटिभी फुटेजमा एनसेलका कर्मचारीको गतिविधि शंकास्पद देखिएको प्रहरीले जनाएको छ । 

गत शुक्रबार राति एनसेल कार्यालयलाई लक्षित गरी भएको बम विस्फोटमा ललितपुर बागडोलकी २६ वर्षीया प्रतिक्ष खड्का, काभ्रेकी २५ वर्षीया उरुषा मानन्धर घाइते भएका थिए भने लमजुङका ४९ वर्षीया सिंगप्रसाद सिंहको मृत्यु भएको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *