बैंकलाई ब्याजदरमा लचिलो हुन प्रधानमन्त्रीको आग्रह, अर्थमन्त्रीले भने– ‘बैङ्कले ब्याज लिने हो’

 

फागुन ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उनले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् । 

उनले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव दिए । ‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्ता क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस्’, उनले भने, ‘सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबैभन्दा कम ब्याज उठाउनुहोस् ।’ 

null

बिलासिताका वस्तुमा लगानी कम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले व्यवसायीहरुको गुनासोका बारेमा बैंकहरूसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री डा युवराज खतिवडा र राष्ट्र बैंकका गर्भनरलाई समेत निर्देशन दिए । 

‘बैंकहरूले एउटा शर्तमा ऋण दिने र आफूखुशी ब्याज बढाउँदै लैजाने कुरा उपयुक्त हुँदैन । यसमा सरकारले नियमन गर्छ’, प्रधानमन्त्री ओलीले भने । उनले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्न खुला प्रतिष्पर्धाको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै सरकार उद्योगी व्यवसायीका समस्या समाधान गर्न सधैँ सकारात्मक रहेको बताए । 

अर्थमन्त्री युवराज खतिवडाले बैङ्क र उद्योग दुवै फस्टाउन सक्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बैङ्कले विभिन्न सेवा शुल्कका नाममा अनावश्यक रूपमा रकम लिन नहुने भन्दै मन्त्री खतिवडाले भने, ‘बैङ्कले ब्याज लिने हो, सेवा शुल्क लिन पाइँदैन। यदि शुल्क लिएका रहेछन् भने फेरि पनि हट्छ, तुरुन्त बन्द हुन्छ।’ 

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम भई स्थिर सरकार बनेकाले लगानीको वातावरण बन्दै गएको बताएका छन् । 

एशोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको आज उद्घाटन गर्ने क्रममा गभर्नर नेपालले सरकारले एक स्थानीय तह कम्तीमा एक बैंकको नीति लिएको र वित्तीय साक्षरता र वित्तीय पहुँच पनि बढ्दै गएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *