मागेर रंगशाला होईन एकसय रुपैयाँमा उपचार हुने अस्पताल बनाउनुहोस

मागेरै क्रिकेट रंगशाला बनाउने हो भने धुर्मुसको ठाउँमा ‘माग्ने बुढा’लाई नै नेता मानेको भए हुन्थ्यो । नाम र काम दुबै मिल्थ्यो । यसले हाम्रो माग्ने सँस्कृतिलाई झन उन्नत बनाउँथ्यो । मगन्तेहरुको यो देशमा हामी क्रिकेटको मनोरञ्जन पनि मागेरै गर्ने मानसिकता बोकीरहेका छौं । 

जनतासँग चन्दा मागेर भौतिक पुर्वाधार निर्माण गर्ने हो भने हे धुर्मुस र सुन्तलीहरु, उत्तम सँजेलले झैं एक सय रुपैयाँमा पढन पाइने स्कूल र एक सय रुपैयाँमा उपचार गर्न पाइने अस्पताल खोल्नुस् । 

क्रिकेट रंगशाला जनताको प्राथमिकता हैन, जनताको प्राथमिकता शिक्षा र स्वास्थ्य हो । धुर्मुस र सुन्तलीले आफ्नै गोजीको पैसाले क्यासीनो सेन्टर नै बनाउन, हामीलाई बाल मतलब भएन । 

null

शिक्षा र स्वास्थ्यलाई लोक कल्याणकारी बनाउनु आजको मुलभूत प्राथमिकता र दायित्व हो । कुनै रोग लागेमा एक नागरिकको सारा सम्पत्ती स्वाहा हुने आजको अवस्थाको अन्त्य गरौं । यसका लागि निजी शिक्षण र स्वास्थ्य संस्थाहरु बन्द गराउँ । सेवामुलक क्षेत्रमा निजी क्षेत्रको व्यापारीक लगानी जरुरी छैन । शिक्षा र स्वास्थ्य नाफा कमाउने क्षेत्र हैनन् । 

 

सरकारले शत प्रतिशत स्वास्थ्य र शिक्षालाई लोक कल्याणकारी बनाउन सक्दैन भने, महतोदेखि चौधरीसम्म, घलेदेखि सुमार्गीसम्म, गुरुङदेखि प्रसाइसम्मका धनधान्यले युक्त नागरिकहरुको पहलमा एउटा ‘हेल्थ ट्रष्ट’ बनाउँ । यो ट्रष्टलाई सबै मनकारीले आ–आफ्नो पितृको मोक्ष, पुण्य कमाउने चाहना, सेवा गर्ने लालसा, परलोकमा न्याय पाउने आशा या मरेपछि स्वर्गै जाने अनेक सोचबाट प्रेरीत भएर गच्छे अनुसार चन्दा दिउँ । 

र, यसको नेतृत्व धुर्मुसलाई दिउँ र धुर्मुसमार्फत देशव्यापी चन्दा आव्हान गरौं । कोषमा जति चन्दा सँकलन हुन्छ, त्यसमा सरकारले तिस प्रतिशत थपोस् । यसको सञ्चालनका लागि स्वच्छ छवीका व्यक्तिहरुको समिति बनोस् । र, यो ट्रष्टले सातै प्रदेशमा समता अस्पताल झैं सय रुपैयाँमै उपचार हुने अस्पताल खोलोस् ।  

रगत, दिशा, पिसाब, खकार, फोक्सो, किड्नी, लिभर, मगज, करङ, अण्डकोष, पाठेघर, पेट, मुटु, नाक, कान, घाँटी, घुँडा आदि शरीरका कुनै पनि अँगको परीक्षण, अल्ट्रासाउण्ड, एक्सरे, एमआरआई, इसीजी आदि गर्न जनताले सुको तिर्न नपरोस् । प्लस टुसम्म निःशुल्क पढन पाइने स्कुल खोलियोस् । 

चन्दा मागेर क्रिकेट रंगशाला बनाउनु भनेको दिनभरी सडकमा भिख मागेर साँझ डिस्को जानु हो । मधुर भण्डारकरको फिल्म ‘ट्राफीक सिग्नल’मा यस्तै एउटा पात्र छ, जो दिनभरी सडकमा माग्नेको गेट अपमा भिख माग्छ, अन्धो भएर । साँझ परेपछि गर्लफ्रेन्डलाई लिएर दिनभरी मागेको पैसाले डिस्को जान्छ, रगँरलीया मनाउँछ । यही फिल्ममा अर्को पात्र पनि हुन्छ, जो सडक किनारमा बसी भिख मागेको पैसाले बृद्ध बाबुको उपचार गर्छ ।  

मागेको पैसा कहाँ लगाइन्छ ? भन्ने प्रश्न बडो महत्वपूर्ण छ । जनतासँग मागेको पैसाले जनताका प्राथमिक समस्या समाधानमा लगाउनुपर्छ । र, क्रिकेट रंगशाला जनताको प्राथमिकता हैन, जनताको प्राथमिकता शिक्षा र स्वास्थ्य हो । धुर्मुस र सुन्तलीले आफ्नै गोजीको पैसाले क्यासीनो सेन्टर नै बनाउन, हामीलाई बाल मतलब भएन । 

तर, हाम्रो प्राथमिकताभन्दा बाहेकका चिजहरु निर्माणमा उनले हामीसँग चन्दा माग्नु विवेकसम्मत हैन । सक्छौ भने, उत्तम सँजेलले झैं एक सयमा उपचार हुने अस्पताल र एक सयमा पढाई हुने स्कूल खोल्ने अभियान चलाउ, म पनि दिल खोलेर चन्दा दिन्छु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *