भरतपुर महानगरपालिकामा अनियमितता बढ्यो, रेणुलाई जिताएर गल्ती गरिएछः उपप्रमुख

 

फागुन १४, काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहबीच विवाद बढेको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुख रेनुले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छिन् । 

उपप्रमुख ठकुरीले मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यपालिका बैठकमा ल्याइने एजेण्डा आफूलाई कुनै जानकारी नदिई एकलौटी तरिकाले ल्याउने गरेको आरोप लगाएकी हुन् । 

null

‘एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ । मलाई धम्की आउँदा समेत उहाँले बेवास्ता गर्नुभयो । अहिले त रेणुलाई जिताएर गल्ती गरियो जस्तो महशुस भएको छ’, उनले भनिन् । 

उनलाई फेसबुक म्यासेन्जरमा धम्की दिने १९ वर्षीय शिवहरी सुवेदीलाई पक्राउ गरी सर्वदलीय बैठकले जिल्ला प्रहरी कार्यालयमा तारेखमा छाड्ने निर्णय गरेको थियो । ती युवकले माफी समेत मागिसकेका छन् । 

यस्तै उनले महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको लगायतका आरोप लगाइन् । 

‘महानगरलाई राजनैतिक थलो र केन्द्र बनाउन खोजिएको छ । मुस्कानसहितको सेवा हुनुपर्नेमा त्यो पनि भएको छैन’, उनले भनिन् । 

स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखको अधिकारलाई प्रयोग गर्न प्राविधिक तथा कर्मचारी महानगरले पर्याप्त नदिएको उपप्रमुख ठकुरीको गुनासो छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *