रत्ननगरमा बकुल्हर अस्पतालको बेथिति : स्तरीय उपचार सेवा हुँदा हुँदै निजीमा रेफर

माघ २१,  चितवन । सरकारी अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीले बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नौलो होइन । सरकारी अस्पतालका उपकरण बिगारेर, थन्क्याएर वा बिग्रिएको बहाना बनाएर बिरामीलाई निजी अस्पतालमा दौडाउने खेल चितवनमा ब्यापक रूपमा मौलाइरहेको छ । 

 

यसै मध्ये एक हो रत्ननगर बकुलहर अस्पतालमा । यहाँको अस्पतालले प्रेस्क्रिप्सनमै निजी क्लिनिकमा अल्ट्रासाउन्डका लागि रिफर गर्ने गरेको छ । पछिल्लो समय १५ शैयाकाे यस अस्पतालमा विविध सेवासुविधाका कारण बिरामीको चाप बढेको छ । अस्पताल प्रशासनका अनुसार दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन् । उपकरण लगायत स्तरीय उपचार सेवा हुँदाहुँदै पनि त्यहाँका कर्मचारीले निजीमा रिफर गर्ने गरेको प्रमाण भेटिएको छ । 

null

भारत घर भई रत्ननगर ९ बस्दै आएकी एक गर्भवती महिला शुक्रबार उपचारका लागि रत्ननगर अस्पताल पुगेकी थिइन् । अस्पतालमा अल्ट्रासाउन्ड उपकरण हुँदाहुँदै पनि उनलाई भिडियो एक्स–रे का लागि टाँडी बजारमा रहेको रत्ननगर पोलिक्लिनिकमा रिफर गरिएको थियो । अस्पतालमा सुविधा नभए वा उपकरण बिग्रिए मौखिकरुपमा रिफर गर्नु स्वाभाविकै भए पनि एक स्वास्थ्यकर्मीले अस्पतालको प्रेस्क्रिप्सनमै निजी क्लिनिकको नाम उल्लेख गरेर सिफारिस गरेकी थिइन् । 

रत्ननगर अस्पतालमा भएको लापवाहीबारे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले गल्ती गर्ने कर्मचारीसँग स्पष्टीकरण लिइएको र उनले नियतवश सिफारिस नगरेको जवाफ दिएको बताए । अस्पतालमा उपकरण भएपनि एकदिनमा २५ जनाको मात्रै अल्ट्रासाउन्ड गर्न भ्याइने भएकाले समय अभावले अन्यत्र पठाइने गरिए पनि प्रेस्क्रिप्सनमै निजी क्लिनिकको नाम सिफारिस गरिनु लापवार्ही भएको उनले बताए । 

पहिले २/३ महिना उपकरण बिग्रिए पछि स्वीस डोनरले दुईवटा अल्ट्रासाउन्ड मेसिन सहयोग गरेपछि दुई साताअघिदेखि सो सेवा सुचारू रहेको उनले बताए । भर्खरै वामे सर्दै गरेको अस्पतालमा यस प्रकारका लापरवाही हुनु दुःखद कुरा भएको बताउँदै उनले स्वास्थ्यकर्मीलाई मर्यादित भएर काम गर्न मेसु अजय न्यौपाने र आफूले कर्मचारीहरुलाई सचेत गराइसकेको बताए । 

चितवनमा ल्याब सञ्चालकले ग्राहक पठाइदिए बापत् निश्चित कमिसन छुट्याउने गरेका हुन्छन् । एक ल्याब सञ्चालकका अनुसार यसरी रिफरमा आउने बिजनेसमा ३० प्रतिशतसम्म कमिसन दिइने गरिन्छ । रत्ननगरका एक पोलिक्लिनिकका सञ्चालक भन्छन्, ‘हामीले चाहिँ रिफर गर्ने डाक्टर र कर्मचारीलाई कमिसनको व्यवस्था गरेका छैनौँ । बिरामीको सहजताका लागि परामर्श गर्छौं, तर कमिसन नै छुट्याएर रिफर गर्न लगाएका छैनौँ ।’ रत्ननगर अस्पतालमा स्वास्थ्य बिमा गर्ने बिरामीले समेत उपचार गर्न जाँदा अन्यत्र अस्पतालमा रिफर गर्ने गरिएको गुनासो गरेका छन् । 

रत्ननगर १३ का कायस्थ श्रेष्ठ स्वास्थ्य बिमाको औषधी समेत बाहिर क्लिनिकमै किन्नुपरेको बताउँछन् । स्वास्थ्य बिमा गर्ने बिरामीले केही औषधी नपाएको गुनासोबारे अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सरकारले ८४ किसिमका औषधि निःशुल्क उपलब्ध गराउने भए पनि समयमै सम्पूर्ण औषधी नआएका कारण समस्या हुने गरेको छ ।’ 

औषधिकालागि रत्ननगर नगरपालिका वा जिल्ला जनस्वास्थ्य कार्यालय कसले सहयोग गर्ने भन्ने विषयमा टुंगो नलागेको उनी बताउँछन् । उनी भन्छन्, ‘बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म ल्याबदेखि फार्मेसी सेवा प्रदान गर्दै आएका छौँ, तर समयमै औषधी नआउँदा समस्या पर्ने गरेको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *