खुला दिसामुक्त नारामै मात्र सिमित 

चितवन , ६ फागुन । बिं.सं . २०६७ सालमा खुला दिसामुक्त जिल्ला घोषणा भएको चितवनका अधिकांश विकट बस्तीमा अझै पनि शौचालयको सुविधा पुगेको छैन । त्यतिबेला स्याउलाले बारेर अस्थायी शौचालय बनाएर जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि त्यसले स्थायी रुप लिन नसक्दा अहिलेसम्म विकटका समुदाय खुला आकाशमुनी शौच गर्दै आइरहेका छन् । 

 

‘जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने बेलामा गाविस सचिव मार्फत अनिवार्य शौचालय बनाउनैपर्ने भनेर स्थायी शौचालय बनाए पनि त्यसले ६ महिना पनि भएन’, राप्ती १३, तापाङका तुम्पीराम चेपाङले भने, ‘अहिले सम्म खुला आकाशमुनि शौच गर्दैआएका छौँ ।’ चेपाङ समुदायका लागि अहिलेसम्म पक्की शौचालय कल्पनामै सीमित भएको छ । 

null

प्रशस्त पानीको सुविधा नभएकोले शौचालय बनाएकाहरुले पनि प्रयोग गर्न नसकिएको उनको भनाइ छ । सरकारको दिगो योजना नहुँदा अहिलेसम्म गाउँमा शौचालय बनाउन नसकिएको उनले बताए । ‘शौचालय बनाएपछि पानीको प्रयोग गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पानी नै नभएको ठाउँमा शौचालय बनाएर अर्थ हुन्छ र ?’ उनले प्रश्न गरे, ‘त्यसैले, शौचालय बनाउनुभन्दा पहिले पानीको व्यवस्था गर्न सके शौचालय बनाउनुको अर्थ हुन्छ ।’ 

खुला दिसामुक्त जिल्ला घोषणा गर्ने बेलामा विभिन्न खालका आश्वासन पाएका विपन्न चेपाङ समुदायमा अहिलेसम्म शौचालय निर्माण गर्ने भनेर कुनै पनि सरकार नपुगेको उनले गुनासो गरे । ‘स्थानीय सरकार आएपछि त केही होला नि भन्ने आशा थियो’, उनले भने, ‘तर, अहिलेसम्म स्थानीय सरकार भनेको कुन चराको नाम हो भनेजस्तो भइरहेको छ ।’ चुनाव जितिसकेपछि जनप्रतिनिधिको जिम्मेवारी पाएका व्यक्तिहरु अहिलेसम्म मतदाता सामु नआएको उनले बताए । 

शौचालय बनाउने हैसियत नहुँदा अहिलेसम्म खुला आकासमुनि शौच गर्दै आइरहेको राप्ती १३, पोल्पिमका धनजित चेपाङले बताए । ‘भूकम्पले भत्काएको घर त बनाउन सक्या’छैन’, उनले भने, ‘चर्पीभन्दा पहिले त आफू बस्ने घर बनाउनु पर्याे नि ।’ शौचालय निर्माणका लागि सरकारले अनुदान दिन्छ भनेको सुने पनि अहिलेसम्म थाहा नपाएको उनको भनाइ छ । विकटका बस्तीमा जनचेतना नहुँदा अस्थायी शौचालयसमेत कसैले पनि बनाएका छैनन् । 

‘स्थानीयको सोचमा जबसम्म परिवर्तन गराउन सकिँदैन, तबसम्म परिवर्तन हुन सजिलो छैन’, दुङ्बाङ राष्ट्रिय प्रावि श्यामराङका प्रधानाध्यापक अतिबल चेपाङले भने, ‘हामी एक–दुई जना शिक्षित व्यक्ति गाउँमा हुँदैमा सबै कुरा परिवर्तन गर्न नसकिँदो रहेछ ।’ उनका अनुसार ८५ घरधुरी रहेको श्यामराङ गाउँमा विद्यालयसहित जम्मा तीनवटा घरमा मात्रै शौचालय छ, बाँकी सबै खुला ठाउँमै शौच गर्दै आइरहेका छन् । सरकारकै कमजोरीले गर्दा यो समस्या भएको उनको बुझाइ छ । 

जिल्लाका स्वास्थ्य संस्थालाई परिचालन गरेर हरेक गाउँगाउँमा सचेतनाका कार्यक्रम नल्याए सम्म समस्या समाधान हुन नसक्ने उनको तर्क छ । तर, कुनै पनि सरकारी संस्था या कर्मचारी विकटमा आउनै नचाहने समस्याले गर्दा विकटमा अझै अचेतन सोचले जरो गाडिरहेको उनले बताए । ‘विकट गाउँमा कोही पनि आउन चाहँदैनन्’, उनले भने, ‘आएका पनि फर्केर आउन चाहँदैनन्, त्यसैले गर्दा विकटको समस्या झनै चुनौतीपूर्ण बन्दै गइरहेको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *