भिडियो बनाउनुहोस् र जित्नुहोस १ लाखसम्म पुरस्कार
फागुन ५, बिराटनगर । आफ्नो गाँउ ठाँउ र रितिरिवाजलाई प्रर्वधन गर्ने उद्धेश्यले भिडियो च्यालेन्ज हुने भएको छ । वि विल राईज फाउण्डेसनले आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागर्दै सो विषयमा जानकारी गराएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउने अभिप्राय सहित फाउण्डेसनले नेपाल पर्यटन वोर्डसँग सहकार्य गर्दै भिडियो च्यालेन्ज प्रतियोगिता गर्न लागेको जनाइएको छ । भिडियो च्यालेन्ज प्रतियोगितामा सहभागी हुन भिडियो निर्माताहरुले कुनै पनि गाउँको प्राकृतिक, साँस्कृतिक, भेषभुषा, खानपान, कला आदि जुनै पनि एउटा बिषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्ने प्रावधान रहेको फाउण्डेशनका डाइरेक्टर निर्मल श्रेष्ठले जानकारी दिए ।
निर्माण गरिने भिडियो भने नेपालकै हुनु पर्ने प्रावधान रहेको बताइएको छ । कुनै पनि व्यक्तिले आफुसँग रहेको क्यामरा स्मार्टफोन अथवा मोवाइलले समेत एचडी क्वालिटिमा भिडियो खिचेर डकुमेन्ट्रि निर्माण गरेर भिडियो च्यालेन्जमा सहभागिता जनाउन सक्ने बताएको छ । यस्तो भिडियो डकुमेन्ट्री अधिकतम ५ मिनेटको हुनु पर्ने आयोजक समितिले जनाएको छ । निर्माण गरिएको भिडियो वि विल राइज फाउण्डेसनलाई पठाउनुपर्ने प्रावधान छ । प्रतियोगितामा समावेश गराइएका डकुमेन्ट्री विज्ञ सम्मिलित टोलीले उत्कृष्टताका आधारमा छनौट गर्ने फाउण्डेशनका निर्मल श्रेष्ठले जानकारी दिए ।
null
निर्णायकहरुवाट चयन भएका उत्कृष्ट भिडियोहरुलाई फाउण्डेसनको युट्युव च्यानल, फेसबुक पेजमा राखेर प्रचार प्रसार गरिने छ । यसमा सर्वा्धिक लाईक, कमेन्ट र सेयर हुने भिडियोलाई ‘पिपुल च्वाईस एवार्ड’ प्रदान गरिने जनाइएको छ । निर्णायक समितिले भने उत्कृष्ट भिडियोको निर्णय गर्ने छन् ।
दुबै विधामा पहिलो हुने भिडियोले १–१ लाख रुपैंया नगद पुरस्कार पाउने छन् । यो वाहेक नेपाल फिल्म एकेडेमीले करिव २ लाख बराबरको छात्रबृत्ति समेत दिने जनाइएको छ । प्रतियोगितामा फष्ट रनरअप हुने भिडियोले ५० हजार र सेकेण्ड रनरअप हुने भिडियोले २५ हजार पाउने छ ।
यसैगरि सर्वोकृष्ट सम्पादन र सर्वोकृष्ट स्क्रिप्ट भएको भिडियोले पनि २५–२५ हजार रुपैंया प्राप्त गर्ने जनाइएको छ । जनवरी १ तारिखवाट शुरु हुने यो प्रतिस्पर्धा ४ महिनासम्म चल्ने आयोजकले जनाएको छ ।