‘लुटेर खान प्रोत्साहन गर्ने गीत जनताले मन नपराएपछि युट्युबाट हटाए’

 

फागुन ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटेर खान प्रोत्साहन गर्ने गीतलाई काँग्रेसले समर्थन गरेको आरोप लगाएका छन् । 

बुधबार सुदूरपश्चिम प्रदेश सभामा सम्बोधनका क्रममा पहिलो पटक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ बारे प्रतिक्रिया दिँदै कांग्रेसले लुटेर खान सिकाउने गीतलाई नेपाल सुहाउँदो भनेर प्रोत्साहन गरेको देखेर आफूलाई अचम्म लागेको बताए । 

null

ओलीले कांग्रेस सांसदले पुरस्कार दिएर त्यस्तो गीत प्रोत्साहन गर्न खोजेकोमा आपत्ति जनाउँदै यस्तो गीतबारे सरकारले केही नभनेको र हटाइसकेपछि कुरै सकेको बताए । 

‘हामी नचाहिने कुरामा रमाउँछौँ, नचाहिने कुरामा उत्ताउलो हुन्छौँ । नचाहिने कुरालाई प्रोत्साहित गर्छौँ । एउटाले भुलचुकले गीत बनायो रे । कता हो मैंले सुनेँ । लुट लुट, गरिखाएर केही हुँदैन । लुटेर खा भाइ लुटेर खा भनेर गीतकारहरुले यसो बनाए होलान् । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि उनले युट्युबबाट हटाए रे’, गीतबारे बोल्दै प्रधानमन्त्रीले भने, अर्को सांसदले त्यस्तो राम्रो महान व्यक्तिलाई, लुटेर खान सिकाउने गीत किन हटाएको राख्नुपर्यो । हाम्रो त बाटै त्यही हो । २५ हजार त्यस गीत बापत पुरस्कार दिन्छु भने रे । मलाई अचम्म लाग्यो । हामी कता जान खोज्दैछौँ ।’ 

प्रधानमन्त्रीले भने, ‘अर्को एउटा सांसदले त्यस्तो राम्रो महान गीत, लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन्। हाम्रो त बाटै त्यही हो। २५ हजार त्यस गीत बापत पुरस्कार दिन्छु भनेछन्। मलाई अचम्म लाग्छ । हामी कता जान खोज्दैछौं।’ 

‘उनले भावनामा बगेर एकछिन एउटा गीत लेखे, युट्युबमा पनि हाले तर सबैले राम्रो गरेनौ भाइ भनेपछि हटाए त सिधियो नि कुरो । सरकारले केही भनेकै छैन । सरकारले किन केही भन्नु पर्छ ? । सरकार यति भन्छ, सुबाटोमा हिँड’, प्रधानमन्त्रीले भने । 

सोमबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद सिंहले गायक शर्माको गीत हटाएकोमा आपत्ति जनाउँदै उनलाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए। 

अर्का सांसद झपट बहादुर रावलले भने गायक पशुपति शर्माले देश लुट्न प्रेरित गरेर गीत गाएको आरोप लगाएका थिए । साथै उनले पुरस्कार घोषणा गर्ने सांसद सिंहले संसदमै त्यही गीत गाए आफ्नो एक महिनाको पारिश्रमिक उनैलाई दिने घोषणा गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *