हवाईजहाज चढेर मात्रै समृद्धि आउँदैन, महिला हिंसा पनि अन्त्य हुनुपर्छ: राष्ट्रपति

 

फागुन २४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला पुरुषबीच विभेद कम गरी महिलाप्रति हेर्ने सोच र व्यवहार परिवर्तन भएमा मात्र समृद्धि हासिल हुने बताएकी छिन् । 

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित मुल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हवाईजहाज चढेर मात्र समृद्धि नआउने बताईन् । 

null

‘ठूला पुल र सडक बनाएर, हवाईजहाज चढेर मात्र मुलुकमा समृद्धि आउँदैन । समृद्धिका लागि महिलाप्रति हेर्ने सोच र व्यवहार परिवर्तन हुनुपर्छ । एउटा महिला पीडित हुनु भनेको पुरुष पनि पीडित हुनु हो भन्ने कुरालाई जनचेतना मार्फत परिवर्तन गर्नुपर्छ । महिला हिंसा अन्त्य गरिनुपर्छ ।’ 

महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा उनको जोड थियो । उनले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्छ भनिन् । 

काननूनले अन्त्य गरिसकेको छाउपडी ,बोक्सी, बालविवाह, बहुबिवाहजस्ता कुप्रथा समाजमा अझै विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता प्रथालाई जरोदेखि नै समाप्त गर्न सामूहिक प्रयत्नको खाँचो रहेकेा औँल्याइन् । 

राष्ट्रपति भण्डारीले गाउँ घरमा विद्यमान महिलाविरुद्धका अन्धविश्वास तथा कुप्रथा अन्त्य गर्न महिला शिक्षामा लगानी वढाउन सरकारसित आग्रहसमेत गरिन् । उनले भनिन्, ‘महिला र पुरुष समानताका लागि हरेक क्षेत्रमा ५०–५० प्रतिशत सहभागिता आवश्यक छ ।’ 

उनले आगामी दिनमा हालसम्म महिला अधिकारका क्षेत्रमा प्राप्त अधिकार रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै पछिल्लो समय छोटो अवधिमा नेपालले लैङ्गिक समानता क्षेत्रमा उल्लेखनीय उपलब्धि तथा फड्को हासिल गरेको बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *