जनमत संग्रह नभए विद्रोह हुन्छः जयकान्त राउत

 

फागुन २९, काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक तथा सिके राउतका दाजु जयकान्त राउतले तत्कालका लागि विखण्डनको नारा त्यागेको बताएका छन् । 

सरकारसँगको सम्झौतापछि अब सिके राउत तत्कालका लागि स्वतन्त्र मधेसको पृथकवादी गतिविधि छाडेर मुलधारको राजनीतिमा आएको उनले बताए । 

null

‘विखण्डनका कुरा राज्यको व्यवहारमा पनि भर पर्छ । भविष्यमा के हुन्छ, त्यो त थाहा छैन । तर आजको मितिमा सिके राउतले विखण्डनको नारा छोड्नुभएकै हो । विश्राम लिनुभएकै हो’, उनले भने । 

मधेसलाई लिएर सिके राउतले उठाएका मुद्दाहरु सरकारले पुरा गर्नुपर्ने उनकाे धारणा थियाे । सिके राउतले मधेसलाई छुट्टै राज्य बनाउने भन्दै संकलन गरेका सामग्रीहरु समान्य भएको दाबी गर्दै उनले भने, ’सिके राउतले मधेसको पहिचानका लागि छुट्टै झण्डा, नक्सा बनाउनु भएको हो । त्यो ठूलो कुरा होइन । काठमाडौँको पनि त छुट्टै नक्सा छ नि । देशमा शान्ति र विकास नचाहनेहरुले सिके राउतले सम्झौता उल्लंघन गरेको भन्ने भ्रम फैलाएका हुन् ।’ 

गत आइतबार मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको स्वागत तथा समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा ‘फ्रि मधेस’ को ब्यानर र ज्याकेट प्रयोग गरेको थियो । 

यस्तै सरकारले जनमत संग्रह गर्न सहमत नभएको दावी गरिरहँदा सिके राउतका दाजु जयकान्तले भने जनमत संग्रह गराएरै छाड्ने दाबी गरे । ‘सरकारले २ नम्बर बुँदामा प्रष्ट लेखेको छ, लोकतन्त्रमा सबैभन्दा उत्तम विधि र प्रक्रिया भनेको जनमत संग्रह हो । सरकारसँग जनमत संग्रह गर्ने गरी सहमति भएको हो’, एक टिभी अन्तर्वार्तामा बोल्दै उनले भने, ‘जनअभिमत भित्रैको एउटा पाटो हो जनमत संग्रह । आवधिक निर्वाचन पनि हो । निर्वाचनबाटै पनि यो समस्याको समाधान हुन सक्छ । त्यो दुवैबाट भएन भने विद्रोह हुन्छ ।’ 

सत्ता जनतामा निहित भएको हुनाले त्यो जनताबाटै हुनुपर्छ भन्ने आफ्नो पार्टीको मान्यता रहेको उनले बताए । राष्ट्रिय विखण्डनका लागि जनमत संग्रह हुनै सक्दैन भन्ने प्रधानमन्त्रीको प्रतिक्रियाकाबारे बोल्दै उनले भने, ‘अहिलेको संविधानमा त्यस्तो छ । तर यो संविधान अनन्त कालसम्म रहन्छ भन्ने पनि त हुँदैन नि । जनताले चाह्यो भने विद्रोहबाट पनि त गर्न सक्छ । सिके राउतलाई राजनीतिक स्पेस दिनका लागि आवधिक निर्वाचन पनि आवश्यक छ । हाम्रो बुझाइ पनि त्यही हो ।’ 

उनले आफ्नो पार्टी पहिलेदेखि नै सरकारसँग वार्तामा आउन चाहेको स्पष्ट पारे । ‘प्रधानमन्त्रीसँग हामीले समस्याको समाधान वार्ताबाटै खोजिरहेका छौँ, वार्ताबाट सहमतिमा आउन हामी सहमत छौँ भनेका थियौँ । हाम्रा मागहरु पनि पुरा हुने तथा राजनीतिमा स्पेस पाउने देखिएपछि हामी सहमतिमा आएका हौँ’, उनले भने । 

विप्लवलाई प्रतिबन्ध लगाएर सिके राउतसँग सम्झौता गरेर सरकारले राष्ट्रघात गरेको भन्दै यसको सर्वत्र विरोध भइरहँदा उनले लोकतन्त्रमा हिंसा गर्नु, हतियार उठाउनु, दमन गर्नु, राष्ट्रघात हो या सरकारसँग सम्झौता गरी मुलधारको राजनीतिमा आउनु राष्ट्रघात हो ? भन्दै प्रश्न गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *