मन्त्री अधिकारीको क्वाटरमा परिवारको रुवाबासी
फागुन १६, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाएपछि देशवासी नै शोकाकुल बनेका छन् ।
दिवंगत मन्त्री अधिकारी नेपाली राजनीतिमा उदाउँदो युवा रहेको तथा मिलनसार, सृजनशिल तथा उर्जावान ब्यक्तित्व आफूमाझ नरहेको भन्दै सबैले गहिरो दुःख व्यक्त गरेका छन् ।
null
विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा सक्रिय अधिकारीलाई कम्युनिष्ट नेताहरुले भद्र, शालिन तथा राजनीतिमा अत्यन्त संभावना बोकेका युवा रहेको बताएका छन् । सबै राजनीतिक दलहरुले उनको स्मरण गर्दै संवेदना प्रकट गरिरहेका छन् ।
यता मन्त्री अधिकारीको क्वाटरमा परिवारको रुवाबासी चलेको छ भने उनका बाबु अर्धचेत अवस्थामा छन् । फुपूको घरमा बसेका मन्त्री अधिकारीका कान्छा छोरा सरोज अधिकारी पनि हरिहरभवन स्थित निवासमा आइसकेका छन् । उनका जेठा छोरा बिराज अधिकारी भने भारतको बेङग्लोरबाट आजै काठमाडौँ आउँदै छन् ।
दिवंगत मन्त्री अधिकारीका शोकाकुल परिवारलाई भेट्न स्वास्थ्यमन्त्री उपेन्द्र यादव, नेकपाका नेता नारायणकाजी श्रेष्ठ र जनादर्न शर्मा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ नै मन्त्री अधिकारीका परिवारलाई भेटेका थिए भने अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान भेटेका थिए ।