‘वीपी कोइराला जस्ता देशका लागि सपना देख्ने प्रधानमन्त्री कसरी राष्ट्रघाती ?’

 

फागुन २९, काठमाडौँ । जसका लागि देश र जनता सबैभन्दा ठूलो कुरा हो । जसले देश र जनताको भावना बोकेको छ । जसले पहिले देशका लागि गर्नुपर्छ भन्छ । जसले देश रहे मात्रै हामी रहन्छौँ भन्छ । जो लोकतन्त्रका लागि १४–१५ वर्ष जेल बसेको छ । राजनीतिक अधिकार प्राप्तिका लागि लामो संघर्ष गरेको छ । जसले जनताको ट्याक्सबाट औषधी खाइरहेको छ र जसलाई जनताले पालिरहेका छन् । 

जसको परिवारमा श्रीमतीबाहेक अरु कोही छैन । उसका लागि देशभन्दा अरु ठूलो कुरा के होला ? जनताको हितभन्दा ठूलो उसका लागि के हुन सक्छ ? त्यस्तो व्यक्ति राष्ट्रिय हितबाट बाहिर कसरी जान सक्छ र कसको लागि जान्छ ? कसका लागि र के को लागि राष्ट्रघात गर्छ उसले ? जसले पृथ्वीनारायण शाह र कालु पाँडेका शालिकहरु निर्माण गर्नुपर्छ भन्छ, जसले राष्ट्रका वीरहरुलाई सम्मान गर्छ र सम्झन्छ । त्यो मान्छे कसरी स्वार्थी बन्न सक्छ ? त्यो मान्छेले कसरी राष्ट्रघाती काम गर्न सक्छ ? 

null

देशभक्तिको नाममा सबैभन्दा कठोर समयमा लडेको मान्छे को हो ? कसको इतिहास छ यहाँ ? देशभक्तिकै सतीत्व जाँच्ने हो भने जाचौँ हामी पनि । कसले सहेर बस्यो नाकाबन्दीका बेला, कसले प्रतिरोध गर्यो ? को डटेर लड्यो ? तर त्यसको मतलब सधैँ लडिरहने भन्ने त होइन नि । रचनात्मक पनि हुनुपर्छ हामी । 

एकजना पत्रकारले मदन भण्डारीलाई तपाईंलाई कुन नेता मनपर्छ भनेर सोधेका थिए । उहाँले वीपी कोइराला मनपर्छ भन्नुभएको थियो । किन मनपर्छ भन्दा वीपीले यो देशका लागि सपना देख्न सक्नुहुन्छ भन्नुभएको थियो । पहिले हाम्रो नेताहरुको भावना यस्तो थियो । आज त्यस्तै सपना देख्ने र सपनालाई साकार पार्न सक्ने  प्रधानमन्त्री केपी शर्मा ओली जस्ता पात्रले विखण्डनको बादलमा मण्डारिरहेको मुलुकलाई जोगाउन खोज्नु के राष्ट्रघाती कदम हो ? होइन, कदापी होइन । 

हिजोका राजनीतिक दलहरु पनि, भनौँ नेपाली कांग्रेस वा मेरै पार्टी मुलधारमा थिएनौँ । कुनै विन्दुमा हामी पनि मुलधारमा आएका हौँ । जनयुद्ध गरिरहेको तत्कालीन नेकपा माओवादीलाई मुलधारमा ल्याउने काम पनि नेपाली कांग्रेस र नेकपा एमालेले गरेका ज्वलन्त इतिहास हामी माझमा छ । गिरिजा प्रसाद कोइराला र माधव कुमार नेपालज्यूहरुले यदी मन ठूलो नगरेको भए अहिलेसम्म यो देशको अवस्था र स्थिति के हुन्थ्यो होला ? त्यसैले मुलधारमा ल्याउनलाई हामीले ठूलो मन गरेनौँ भने, कुनै विन्दुमा छुटेको चीज छुटेको छुट्यै रहन्छ । 

मात्र यसमा स्पेस दिने कुरा हो । यस्तै मोडहरुबाट नै इतिहास अगाडी बढ्ने हो । तर यो आन्तरिक रुपमा राजनीति गर्ने वा आन्तरिक प्रतिस्पर्धाको विषय भने हुनुहुन्न । आन्तरिक विकासको कुरा, मुल्य बढेको कुरा होइन । यो त देश सिंगो रहने कि नरहने भन्ने कुरा हो नि । यो विषयमा सत्ता र प्रतिपक्ष भन्ने हुनुहुन्न । 

जब पाकिस्तान र बंगलादेश विभाजन भए, त्यसबेला भारतीय सदनमा बोल्दै अटल विहारी वाजपेयीले इन्दिरा गान्धीलाई दुर्गा माताको सम्बोधन गरेका थिए । के हाम्रो देशमा यो संस्कार आउन सक्दैन ? हाम्रो एकता, हाम्रो सम्बन्धलाई एउटा कागजको रसिदले फाइन्ड आउट गर्न सक्छ त ? सक्दैन, नेपाल त एनसिएन कन्ट्री हो नि । यो प्राचीन देशका जनताहरुले अहिले आएर एउटा रसिदका आधारमा राष्ट्रवादी प्रधानमन्त्रीलाई प्रश्न उठाउन मिल्छ कि मिल्दैन ? आज राष्ट्रियताका सवालमा कुनैपनि सम्झौता नगर्ने, नेतालाई सत्तापक्ष भनेर प्रतिपक्षले झिना मसिना आरोप लगाउन मिल्छ कि मिल्दैन ? 

यो त नेपाल एक रहने कि नरहने कि भन्ने विषय हो । र नेपाल एक रहन्न भन्ने मान्छे, राष्ट्रिय अखण्डता मानेर आउँछु भनेको बेला शंका गरेर तिमीहरुमाथि हामीलाई भर छैन, विश्वास छैन भन्नु कति सम्म उचित होला ? फल फलेपछि पाक्न पनि त समय लाग्छ । फल पाकुन्जेल हेरौँ । सबैले धैर्यताका साथ । 

हाम्रो जस्तो डाइभरसिटी भएको देशमा द्वन्द्व धेरै हुनु भनेको हामी फेरी अस्थिर हुँदै जानु हो । दुई तिहाईको सरकारले स्थिरता कायम गर्नका लागि पनि विभिन्न माग राखेर आन्दोलन गरेको समूहलाई मूलधारमा ल्याउनु उसको दायित्व पनि हो । प्रधानमन्त्रीकाे कर्तव्य पनि हो । यसको प्रक्रियाको रुपमा भन्दा पनि हामीले यसको सार तत्वमा बुझ्नुपर्छ जस्तो मलाई लाग्छ । 

हामी अब झिना मसिना कुरामा कति अल्झिने ? राजनीतिक रुपमा हामीले सबै पाइसक्यौँ । अब समृद्ध मुलुक बनाउने संकल्पसहित अगाडी बढिरहेका छौँ । सरकारले भिजन–२१ लिएर आएको छ । अबको २५ वर्षमा मुलकलाई विकसित मुलुकको दाँजोमा पुर्याउने कार्यक्रमहरु ल्याएर १५ औँ योजनामा मुलुक अघि बढिसक्यो । हामीले समृद्धि ल्याउँदैछौँ भने साना साना समूहले पनि विद्रोह गर्दा गाह्रो पर्छ नि । त्यसकारणले यसको समाधानका लागि सरकारले माइक्रोलेभलमा सोच्नुपर्छ र सोचिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *