सफारी पर्यटन आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै

चितवन, २५ फागुन । चितवनको कुमरोजमा सुरू भएको सफारी पर्यटन आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । खैरहनी नगरपालिका अन्तर्गत पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती, जिप सफारी र राप्ती नदीमा डुंगा सयर गर्न पाउने भएकाले कुमरोज आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो । 

सौराहामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कुमरोज वनमा सफारीका लागि जाने गरेका छन् । सफारी पर्यटनमा रमाउन कुमरोजमा मासिक १६ हजार अर्थात् वार्षिक एक लाख ९२ हजार पर्यटक जाने गरेका छन् । ती पर्यटकमध्ये ९० प्रतिशत आन्तरिक पर्यटक रहेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए । पर्यटनबाटै सो सामुदायिक वनले वार्षिक एक करोड ९० लाख रूपैयाँ आम्दानी गर्ने गरेको छ । पर्यापर्यटन बाट भएको आम्दानी वनले पर्यटन पूर्वाधार निर्माण, वन संरक्षण र स्थानीय समुदायको वनसँगको निर्भरता हटाउन आयआर्जनको काम गरिरहेको छ । 

 

null

कुमरोजमा पर्यटक आउन थालेपछि सुकुम्बासीहरुले पनि स–साना पसल राखेर गुजारा गर्न थालेका छन् । पर्यापर्यटनको विकाससँगै कुमरोजमा होटल तथा होमस्टे खुलेका छन् । कुमरोजको पर्यटनलाई लक्षित गरी ठूला होटलहरु निर्माणको क्रममा रहेका छन् । पर्यटकका लागि सामुदायिक वनले आवासीय सुविधासहितका टावर निर्माण गरेको छ । जिप सफारीका लागि वनमा २२ किलोमिटर लामो ट्रयाक निर्माण गरिएको छ । 

पर्यटकलाई दुर्लभ वन्यजन्तु देखाउन हात्ती सफारीको व्यवस्था मिलाइएको वनका अध्यक्ष हीराबहादुर गुरूङले बताए । कुमरोजमा दुईवटा टावर, १५ वटा होमस्टे र केही होटलहरु खुलेका छन् । सौराहाबाट कुमरोजमा पर्यटक ल्याउन दैनिक २५ वटा जिप चल्ने गरेका छन् । सौराहाबाट जिपमा पर्यटक ल्याएर उनीहरुलाई सामुदायिक वनमा वन्यजन्तु देखाउँदै पुनः सौराहा र्पुयाउने व्यवस्था रहेको छ । 

त्यसका अलावा कुमरोजमा रमाउन चाहने पर्यटकलाई होटल, होमस्टे र टावरमा बस्ने व्यवस्थासहित जिप, डुंगा र हात्ती सफारीको सजिलो व्यवस्था रहेको वनका अध्यक्ष गुरूङले बताए । सामुदायिक वनले एउटा जिप वन प्रवेश गराएबापत् एक हजार ५००, हात्ती सफारीका लागि प्रतिपर्यटक ४००, डुंगा सयरका लागि दूरीका आधारमा ५५० देखि एक हजार रूपैयाँसम्म शुल्क लिने गरेको छ । टावरमा बस्न भने आन्तरिक पर्यटकलाई ५०० र विदेशी पर्यटकलाई एक हजार रूपैयाँ लिने गरिएको छ । कुमरोज जाने पर्यटकहरुले दुर्लभ एकसिंगे गैंडा, बाघ, मृग, चित्तललगायतका वन्यजन्तुको अवलोकन गर्न पाउनेछन् । 

डुंगामार्फत गोहीलगायत अन्य जलचर प्राणीको अवलोकनसँगै निकुञ्जको रमणीय दृश्य अवलोकन गर्ने गरेका छन् । टावरमा रात बसेर पर्यटकले वन्यजन्तुको अवलोकनसँगै वनसँगको सामीप्यता प्राप्त गर्न सक्नेछन् । त्यस्तै, विभिन्न जातजातिले सञ्चालन गरेको होमस्टेमा बसेर पर्यटकले उनीहरुको परम्परागत संस्कृति र खानाको स्वाद लिन सक्नेछन् । 

कुमरोजमा २०५५ सालबाट पर्यापर्यटन सुरू भएको हो । पर्यापर्यटन सुरू भएर पर्यटक आउन थालेपछि स्थानीय समुदाय वन पैदावर लिन जंगल जान छाडेका छन् । वनसँग आश्रित समुदायले पर्यटनसँग जोडेर व्यवसाय सुरू गरेका छन् । सामुदायिक वनले आर्थिक अवस्था कमजोर भएका समुदायलाई आम्दानीका लागी आयआर्जनका कार्यक्रम गर्ने गरेको छ । 

सामुदायिक वनले सामुदायिक विकास कार्यक्रम अन्तर्गत विकास निर्माणमा आर्थिक सहयोग गर्दै आएको छ । वन्यजन्तुलाई मानवबस्तीमा प्रवेश गर्न नदी निकुञ्ज र बस्तीको सिमानामा मेस जाली लगाउने काम गरेको छ । 

‘पर्यटनकै कारणले विपन्न समुदायले केही न केही गरेर जीविका चलाएका छन्’, वनका अध्यक्ष गुरूङले भने, ‘पर्यटक आउन थालेपछि कुमरोजको मुहारसमेत फेरिएको छ ।’ सामुदायिक वनले पर्यटनसँगै संरक्षणको कामलाई पनि सँगसँगै अगाडि बढाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *