‘प्रधानमन्त्रीज्यू, कांग्रेसको टिप्पणी गर्न छाेड्नुस्, जनताप्रतिको दायित्व निभाउनुस्’


चैत १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आलोचना गरेपछि कांग्रेसले आलोचनाको खण्डन गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा प्रम ओलीले ‘सर्प–सिँढी खेलमा जस्तै कांग्रेस ९९ बाट एकै पटक २ मा झरेजस्तो भो, कठै कांग्रेस’ भन्दै टिप्पणी गरेका थिए। त्यसको प्रतिवाद गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको टिप्पणी–आमाको अगाडि मावलको बयान जस्तो भएको बताए ।
null
‘प्रधानमन्त्री ओलीले एक कार्यक्रमका क्रममा नेपाली कांग्रेसप्रति गर्नुभएको टिप्पणीलाई हामीले प्रधानमन्त्रीको पदीय गरिमाको उचाई अनुरुप नभएको दुःखद् र हलुका अभिव्यक्तिका रुपमा लिएका छौं’, प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसलाई लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलको बयान’ भन्दा भिन्न छैन।’
यस्तै कांग्रेसले विप्लव समूहलाई लगाइएको प्रतिबन्धबारे आफ्नो पार्टीको धारणा प्रष्ट भएको बताएको छ । ‘निषेधले समाधानमा पुग्न सकिन्न। वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीसँग हामी खोजिरहेका छौं र हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपिल गरिरहेका छौं’ विज्ञप्तिमा भनिएको छ ।
सरकार–सिके सम्झौताको दोस्रो बुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या सम्झौताको तीन साता पुग्दा पनि आउन नसक्नु दुःखद र आपत्तिजनक रहेको कांग्रेसको ठहर छ ।
प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको कर्म र विश्वासप्रति औचित्यहिन टिप्पणीहरु गरेर दिन बिताउनु भन्दा जनताले सुम्पिएको दायित्व बमोजिम जिम्मेवार ढंगले कार्य गर्न हामी सचेत गराउँछौँ ।’
