थाइल्याण्डको आम निर्वाचनका लागि आज मतदान

 

चैत १०, बैङ्कक । सन् २०१४ मा भएको सैन्य कु पछि थाइल्याण्डमा आइतबार पहिलो पटक निर्वाचन भएको छ । 

विद्यालय, मन्दीर, सरकारी कार्यालय लगायतका ठाउँमा बिहानैदेखि मतदान गर्नेहरुको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

null

बहुप्रतिक्षित यस निर्वाचनप्रति थाइल्याण्डका धेरै जनता उत्साहित देखिएका छन् भने राजाले पनि आफ्नो असल नेता छान्न आह्वान गरेका छन् । 

थाइ नरेश माहा वाजिरालोङकोर्नको आह्वानलाई स्थानीय टेलिभिजनहरुले पटक पटक प्रसारण गरिरहेका छन् । 

थाइल्याण्डमा संवैधानिक राजतन्त्र छ भने राजाले राजनीतिमा कुनै भूमिका खोज्ने गरेको पाइएको छैन । राजपरिवारलाई नकारात्मक असर पर्नेगरी टिका टिप्पणी तथा व्यवहार गर्न नपाईने कानुनी व्यवस्था छ । 

निर्वाचनका लागि देशभरी पाँच करोड दश लाख भन्दा बढी मतदाता रहेका छन् । ती मध्ये झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने छन् । निर्वाचन आयोगका अधिकारीहरूले दिएको जानकारी अनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन् । मतदान गर्ने आप्रवासीमध्ये सबैभन्दा धेरै अष्ट्रेलियामा रहेका छन् भने दोस्रो धेरै अमेरिकामा रहेका छन् । 

निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । थाइल्याण्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन् । हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको संख्या भने पाँच सय रहेको छ । 

निर्वाचनका लागि करिब ४० राजनीतिक दलले निर्वाचन आयोगमा नाम दर्ता गराएका छन् । सैनिक शासक रहेकोले उक्त निर्वाचनमा दलले सहभागिता नजनाउने अनुमान गरिएका बेला सरकारले दलहरुलाई दर्ताका लागि बाटो खोलिदिएपछि निर्वाचनको थप वातावरण बनेको हो । 

पूर्व प्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई भने अदालतले विघटन गरिदिएपछि सो पार्टी निर्वाचनमा सहभागी हुनबाट बञ्चित भएको छ । 

थाकिसन सिनावात्रालाई सन् २००६ मा सैनिक सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । त्यसपछि सन् २०१४ मा उनकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो । तर उनलाई पनि भ्रष्टाचारको आरोपमा सत्ताबाट हटाइएको थियो । त्यसपछि पाँच बर्षदेखि सैनिक नेता प्रयुत चान–ओ–चाले सरकारको नेतृत्व गरेका छन् । उनी पनि अहिले निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *