विदेशी लगानीकर्तालाई स्वागत गरी नेपाली खुशी छन् भन्ने प्रमाणित गरौँः अर्थमन्त्री

 

चैत १३, काठमाडौँ । सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ । 

अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । सम्मेलन यही चैत १५ र १६ गते आयोजना गरिएको छ । 

null

पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भने, ‘सम्मेलन सबै नेपालीको साझा अभियान हो । यसलाई सफल पार्न र देशमा वैदेशिक लगानी भित्र्याउन समेत महत्वपूर्ण अवसर हो ।’ 

उनले विकासका सम्भावना र आवश्यकतालाई ख्याल गर्दै सरकार, स्वदेशी तथा विदेशी लगानीकर्ताका बीचमा सुमधुर सम्बन्ध विकास गरी राष्ट्रिय आवश्यकतालाई पूरा गर्नसमेत सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने र नेपाल लगानीका लागि असाध्यै अनुकूल अवस्थामा छ भन्ने सन्देश दिन लागिएको उनले उल्लेख गरे । 

अर्थमन्त्री खतिवडाले सम्मेलनमार्फत् विश्वका लगानीकर्तालाई नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका लागि सरकारले लिएका नीतिगत तथा कानूनी प्रयासबारे जानकारी गराउने अवसर मिल्ने बताए । 

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको सन्देश दिने अवसरका रूपमा सम्मेलनलाई लिइएको उल्लेख गर्दै अर्थमन्त्रीले सरकारको सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई सफल बनाउनसमेत सम्मेलन महत्वपूर्ण अवसर भएको बताए । सम्मेलनलाई सफल बनाउन सरकारले अर्थमन्त्रीकै संयोजकत्वमा निर्देशक समितिसमेत गठन गरेको थियो । 

बन्द हडतालका कार्यक्रम छाडेर विदेशी लगानीकर्तालाई नेपाली हँसिला खुशीला छन् भन्ने सन्देश दिनुपर्नेमा उनको जोड थियो । सम्मेलनका लागि सुरक्षा व्यवस्थासमेत चुस्तचुरुस्त पारिएको उनले दाबी गरे । 

‘हाम्रा सन्तान रोजगारीका लागि विदेश जाने वातावरण नबनोस्’, उनले भने, ‘हाम्रा पाहुनालाई स्वागत गरौँ, नेपाली हँसिला, खुसिला छन् भन्ने प्रमाणित गरौँ ।’ 

उनले सुरक्षाकर्मी तथा विमानस्थलका सबै कर्मचारीलाई सुरक्षाको व्यवस्था मिलाउँदै राम्रोसँग पाहुनालाई स्वागत गर्न निर्देशनसमेत दिए । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *