हेलिकप्टर दुर्घटनामा दिवंगत आङछिरिङ शेर्पाको आइतबार टेकु घाटमा अन्त्येष्टि गरिने


फागुन १७, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा दिवंगत यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको बौद्ध विधिअनुसार टेकु घाटमा अन्त्येष्टि गरिने भएको छ ।
बुधबार ताप्लेजुङको सिस्ने खोला क्षेत्रमा ज्यान गुमाएका आङछिरिङ शेर्पाको आइतबार बौद्ध विधिअनुसार टेकु घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
null
दुर्घटनामा ज्यान गुमाएका अन्य ४ जनाको भने आजै पशुपति आर्यघाटमा अन्येष्टि गरिएको छ । मन्त्री अधिकारीको अन्त्येष्टि पनि आजै उनको गृहनगर पोखराको रामघाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
मन्त्री अधिकारीको पार्थिव शरिरलाई अहिले श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिएको छ ।
यसअघि बिहान दिवङ्गत सातै जनाको शव काठमाडौँको टुँडिखेलमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । श्रद्धाञ्जली दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुक, विभिन्न दलका नेता उच्च पदस्थ सरकारी अधिकारी सहभागी भएका थिए ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री रवीन्द्र अधिकारीसहितको सातजनाको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
