अधिकारीको निधनले मुलुकलाई अपुरणीय क्षतिः श्रेष्ठ, रविन्द्र दाई ‘रोल–मोडल’: प्रदीप पौडेल

 

काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेकपाका नेता रुपनारायण श्रेष्ठले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको असमायिक निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै श्रेष्ठले नेपालका सबै पार्टीका युवा नेताहरुको लागि स्वर्गीय अधिकारी ‘रोल–मोडल’ भएको प्रतिक्रिया दिए ।  

उनले भने,‘उहाँले नेपालको विद्यार्थी आन्दोलनलाई मूल प्रवाहमा ल्याउनुभएको हो । विद्यार्थी आन्दोलनलाई दिशा दिने काम उहाँले गर्नुभयो । उहाँ सबै पार्टीका युवा नेताहरुको लागि रोलमोडलका रुपमा स्थापित हुनुहुन्थ्यो ।’ 

null

साक्षात्कारमा बोल्दै उनले स्वर्गीय अधिकारी बोलेको कुरा पूरा गरेरै छाड्ने नेताको रुपमा चिनिएको सुनाए । ‘उहाँ बोलेको कुरा पुरा गर्नुहुन्थ्यो । उहाँ बोल्दै बोल्नुहुन्न थियो, बोलेपछि परीणाम दिएरै छोड्नुहुन्थ्यो ।’ 

 

उनले अधिकारीले सार्वजनिक यातायातमा ३३ प्रतिशत भाडा छुटको लागि सशक्त भूमिका खेलेको भन्दै उक्त योगदानको सँधै स्मरण रहिरहने पनि जनाए । उनले भने,‘सिमा सुरक्षाको अभियान पनि चलाउनुभयो । उहाँले धेरै अनुकरणीय काम गर्नुभएको थियो ।’ 

संसदको विकासका समितिको सभापति हुँदादेखि अहिले पर्यटनमन्त्री हुँदा अधिकारीले प्रभावकारी काम गरेको उनले जनाए । उनले भने,‘पछिल्लो समय मन्त्री भएपछि उहाँले पर्यटन क्षेत्रको विकासको लागि अतुलनीय योगदान पुर्याउनु भएको छ । उहाँ अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण द्रुत गतिमा गर्नुपर्छ भनेर लागिरहनुभएको थियो । उहाँको अभाव यो राष्ट्रलाई सँधै खड्किरहन्छ ।’ 

  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आफ र स्वर्गीय अधिकारीवीच निकै आत्मीय सम्बन्ध रहेको सुनाए । उनले भने,‘उहाँ त नातामा पनि मेरो दाजु नै हुनुहुन्थ्यो । हाम्रो क्षेत्रमा उहाँको ठूलो प्रभाव छ । उहाँ वास्तवमा हामी युवाहरुको लागि रोल–मोडल नै हुनुहुन्थ्यो ।’ 

पौडेलले अधिकारीलाई अत्यन्तै सह–हृदय, मिलनसार र सरल व्यक्तिको रुपमा चित्रण गरे । उनले भने,‘म त उहाँको नातामा भाई पर्छु, तर उहाँ नातामा भाई नपर्नेहरुलाई पनि आफू दाई भएको महशुस गराउनुहुन्थ्यो ।’ 

 

मुलुकले निकै धेरै आशा गरेको युवा नेता गुमाएको भन्दै उनले अधिकारीलाई सबै पार्टीका युवा नेताहरुले रोलमोडलको रुपमा लिएको सुनाए । उनले भने,‘अत्यन्तै लोकप्रिय हुनुहुन्थ्यो, ०६४, ०७० र ०७४ को निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँले पोखरामा पनि राम्रो छबि बनाउनु भएको थियो ।’ 

समाज र देशको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी अधिकारीमा रहेको उनले सम्झिए । उनले भने,‘समकालिन नेताहरुमा उहाँ नेपाल बुझेको नेतामा पर्नुहुन्थ्यो । उहाँले प्रविण गुरुङको सडक दुर्घट्नामा निधन हुँदा निडरता प्रस्तुत गर्नुभएको थियो । राजाको विरुद्धमा आन्दोलन नै चलाउनुभयो ।’ उनले मन्त्री अधिकारीको दुर्घट्नामा भएको निधन र वाईडबडी प्रकरण दुवै फरक विषय भएकोले उक्त प्रकरणको बारेमा निश्पक्ष छानबिन हुनुपर्ने बताए । उनले भने,‘यो प्रकरण तुहिनु हुँदैन् ।’  

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय मन्त्री अधिकारी यो प्रकरणमा निर्दोष हुनुहुन्थ्यो भनेर बोलिसक्नुभएको छ नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘प्रधानमन्त्रीले दोषी पत्ता लगाउनको लागि सहयोग गर्नुपर्छ । उहाँले यो प्रकरणको छानबिन गर्नको लागि शाही आयोगजस्तो एउटा आयोग बनाउनुभएको थियो । तर, अहिलेसम्म आयोगका सदस्यहरु नियुक्ती पत्रसमेत पाएका छैनन् । यो प्रकरणमा अख्तियारले छानबिन गर्छ । महालेखाले पनि खोजी गर्नुपर्छ ।’फरक प्रसँगमा उनले पार्टीभित्र अहिले केही अन्तरविरोध देखिएकोजस्तो भएपनि पार्टीलाई मिलाएर एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।  

 

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले स्वर्गीय रवीन्द्र अधिकारी अत्यन्तै असल नेता रहेको सुनाए । सुमनले आफूहरु धेरै कार्यक्रममा सँगसँगै रहेको पनि सुनाए । उनले भने,‘उहाँ र म एउटै कोठामा पनि सुतेका छौं । उहाँ विकासप्रति निकै गम्भिर हुनुहुन्थ्यो । उहाँले कहिल्यैपनि मधेशको विरोधमा बोल्नुभएन ।’ 

सिँगो मधेश नै अधिकारीको व्यक्तित्व र विचारबाट प्रभावित बनेको सुमनले सुनाए । उनले थपे,‘मैले उहाँमा घमण्ड र लोभ देखेको थिईंन।’ अधिकारीको जीवन सँधै सफल रहेको उनको दाबी छ । उनले भने,‘उहाँ बेदाग भएर जानुभयो ।’  

फरक प्रसँगमा उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिता लिएकै सरह भएको पनि स्पष्ट पारे । उनले भने,‘यो सरकारको कुनैपनि कृत्य र कु–कृत्यसँग हाम्रो कुनै साईनो छैन् ।’ सरकारलाई दिएको समर्थन अब बस्ने पार्टीको कुनैपनि बैठकले फिर्ता लिने उनले ठोकुवा गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *