भूपेन्द्रजंग शाहीले भने, ‘तरुण दल विस्तार नगरिए राजीनामा दिन्छु’


चैत ३, काठमाडौँ । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले तरुण दल विस्तार नगरिए राजीनामा दिने चेतावनी दिएका छन् । कांग्रेस सर्लाही काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्दै शनिबार शाहीले तरुण दल २ वर्षसम्म विस्तार नहुनुको दोष सभापति शेरबहादुर देउवाले लिनुपर्ने पनि बताए ।
‘केन्द्रीय समितिको विस्तार उहाँले चाँडो गर्नुपर्छ । गर्न सक्नुुहुन्न भने त्यसको जिम्मेवारी उहाँले लिनुपर्छ’, महासचिव शाहीले सभापति देउवातर्फ लक्षित गर्दै भने, ‘यदि हामी बसेर गार्हो भएको छ भने म राजीनामा दिन पनि तयार छु ।’ उनले भातृ संस्थालाई अड्काएर राख्ने तरिका छोड्नुपर्ने पनि बताए ।
null
तरुण दलमा हाल ४ जना मात्र पदाधिकारी छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र स्वर्गीय खुमबहादुर खड्काले आआफ्नातर्फबाट १–१जना प्रतिनिधि पठाएर तरुण दल गठन भएको थियो ।
सभापति देउवाले सभापतिमा जितजंग बस्नेत, पौडेलले महासचिव शाही, सिटौलाले उपाध्यक्ष उत्तम चापागाई र खड्काले विद्धान गुरुङलाई कोषाध्यक्ष बनाएका थिए । यसरी ४ जनाको भागवण्डा गरेर २ वर्षअघि पोखराबाट फर्किएको तरुण दलको केन्द्रीय कार्यसमिति हालसम्म पनि विस्तार हुन सकेको छैन ।
