टुँडिखेल पुगेर क-कसले दिए श्रद्धाञ्जली ?
फागुन १७, काठमाडौँ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि टुँडिखेलमा राखिएको श्रद्धाञ्जली सभा सकिएको छ । हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनालाई श्रद्धाञ्जली दिन शुक्रबार सर्वसाधारणदेखि राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरु टुँडिखेल पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातै जनालाई टुँडिखेल पुगरे श्रद्धाञ्जली अर्पण गरेका थिए ।
null
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने अन्य ६ जनालाई पनि श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, सभामुख कृष्ण बहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, उप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता वामदेव गौतम, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत विभिन्न दलका नेता, कार्यकर्ता, शुभचिन्तक तथा दिवंगत सबैका आफन्तहरु श्रद्धाञ्जली दिन टुँडिखेल पुगेका थिए ।
श्रद्धाञ्जली दिन पुगेका सबैको आँखा रसाएका थिए । आफन्तहरु भावविह्वल बनेका थिए । टुँडिखेल शोकमग्न थियो । दुर्घटनामा दिवंगत सबैको आजै परिवारको सहमतिमा आ–आफ्नै गृहजिल्ला लगेर अन्त्येष्टि गरिने छ ।
दिवंगत मन्त्री अधिकारीको शव उनको गृहनगर पोखरा लगिँदै छ । पोखराको रामघाटमा आजै उनको अन्त्येष्टि गरिने बताइएको छ ।
बुधबार ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोला क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो ।