खसोग्गी हत्या प्रकरणको अन्तराष्ट्रिय छानविन सम्भव छैनः साउदी अरब

 

चैत १, जेनेभा । प्रसिद्ध पत्रकार जमल खसोग्गी हत्या प्रकरणको अन्तराष्ट्रिय स्वतन्त्र छानविनको प्रस्ताव साउदी अरबलाई मान्य नभएको रियादले बिहीबार पुनः दोहोराएको छ । 

उसले आफ्नो मुलुक अपराधीलाई कानूनी दायरामा ल्याउन अनुसन्धानका लागि आवश्यक पर्ने सबै उपकरण आफूसँग भएको साउदी अरबको दावी छ । 

null

जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा बोल्दै साउदी प्रतिनिधिमण्डलका प्रमुख बन्दार अल–ऐवानले भने, ‘अनुसन्धानका लागि हस्तक्षेपकारी अन्तराष्ट्रिय भूमिकाको मागले साउदी अरबको आन्तरिक मामिलामा हस्तक्षेप हुने र यसमा साउदी अरब सहमत हुन सम्भव छैन । साउदी अरबसँग यो जघन्य अपराधलाई कानूनी दायरामा ल्याउने सबै उपायको प्रयोग गरी घटनाको अनुसन्धान गरिरहेको छ । 

ऐवान मानव अधिकार उल्लङ्घनबारे साउदी अरबको मुल्याङ्कन गर्नका लागि जेनेभा गएका हुन् । जहाँ साउदी अरबमाथि खसोग्गी प्रकरण लगायतका मानब अधिकार उल्लङ्घनका आरोप विश्वका धेरै मुलुकका प्रतिनिधिले लगाएका थिए । 

गत हप्ता विश्वका ३६ राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी खसोग्गीको हत्यारालाई कानूनी कठघरामा उभ्याइ पिडित परिवारलाई न्याय दिलाउन गरिएको आह्वानप्रति प्रतिक्रिया दिँदै साउदी अरबको उक्त भनाई आएको हो । 

वासिङ्टन पोस्टका स्तम्भकार खसोग्गी पूर्वपत्नीसँग भएको सम्बन्धविच्छेदको प्रमाणित कागजात बनाउन टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा गएकै बेला तीन साताअघि हत्या भएको थियो । 

उनको हत्यामा साउदीको शक्तिशाली राजपरिवारकै निर्देशन रहेको भन्दै विश्वभरबाट रियादको आलोचना भइरहेको छ । आलोचना बढेपछि विश्वकै प्रमुख तेल निर्यात राष्ट्र साउदी अरब अहिले संकटमा फसेको छ । 

खसोग्गीकी प्रेमिकाले उनी बेपत्ता भएको सार्वजनिक गरेकी थिइन् । खसोग्गी बेपत्ता भएको विषय बाहिरिएपछि टर्कीले साउदीको वाणिज्य दूतावासमै उनको हत्या भएको र त्यसबारे आफूसँग प्रमाण रहेको बताएको थियो । 

टर्कीलगायतका देशले खसोग्गीको हत्यामा साउदी सरकारकै संलग्नता रहेको बताए पनि सुरुमा रियादले सो आरोप अस्वीकार गरेको थियो । पछि, उसले खसोग्गीको वाणिज्य दूतावासभित्र भएको झगडाका क्रममा मृत्यु भएको र त्यसमा आफ्ना खराब एजेन्टहरु दोषी रहेको आरोप लगाएको थियो । 

यद्यपि उसले विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यममा भनिए जस्तो साउदीका शक्तिशाली युवराज मोहम्मद बिन सलमानको आदेशमा खसोग्गीको हत्या भएको भन्ने विवरणलाई भने अस्वीकार गर्दै आइरहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *