सामाजिक सेवा एकाइबाट पाँच हजार बढीले निःशुल्क सेवा लिए 

फागुन २०, चितवन । चितवनको भरतपुर अस्पतालको सामाजिक सेवा एकाइबाट चालू आवको माघ मसान्तसम्ममा पाँच हजार बढीले निःशुल्क सेवा लिएका छन् । 

सात महिनाको अवधीमा १२ वटा लक्षित समूहका पाँच हजार ३०१ बिरामीहरुले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् । उनीहरुले ७८ लाख ९३ हजार ८२२ रुपैयाँ बराबरको निःशुल्क सेवा लिएका भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिए । 

निःशुल्क स्वास्थ्य सेवा लिनेहरुमा दुई हजार ८०८ जना पुरूष र दुई हजार ४९३ जना महिला रहेका छन् । सूचना अधिकारी पौडेलका अनुसार भरतपुर अस्पतालको सामाजिक सेवा एकाइबाट अति गरिब दुई हजार ५६७ जना बिरामीहरुले निःशुल्क सेवा लिएका छन् । 

null

त्यस्तै, असहाय २०० जना, अपांग १०१ जना, ज्येष्ठ नागरिक दुई हजार २९६ जना र लैंगिक हिंसाका पीडित ६६ जनाले स्वास्थ्य सेवा लिएका छन् । महिला स्वास्थ्य स्वंयम्सेविका ३५ जना, सहिद परिवारका १० जना, प्रहरीद्वारा ल्याइएका थुनुवा १५ जना र अभिभावक नभएका आकस्मिक बिरामी ११ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका पौडेलले बताए । 

लक्षित वर्गका बिरामीहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा औषधि वितरणका लागि सरकारले ५५ लाख रुपैयाँ छुट्याएको थियो, जसमध्ये जेरियाट्रिक (८० वर्ष उमेरमाथिका वृद्धवृद्धा) का लागि ४० लाख रुपैयाँ र सामाजिक सेवाका लागि १५ लाख रुपैयाँ रहेको छ । बाँकी बजेट २३ लाख ९३ हजार ८२२ रुपैयाँ अस्पताल विकास समितिले व्यहोरेको सूचना अधिकारी पौडेलको भनाइ छ । 

लक्षित वर्गका बिरामीहरुलाई औषधि वितरणभन्दा पनि उनीहरुको स्वास्थ्य उपचारलाई प्राथमिकता दिइएको पौडेलले बताए । सरकारले सामाजिक सेवा एकाइबाट १२१ कारका औषधि निःशुल्क प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । तर, सामाजिक सेवा एकाइबाट यी सबै प्रकारका औषधि पाउन मुस्किल छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *