चिया बेचेरै दैनिक १७ सयसम्म कमाउँछिन् मिना
मेहनत गरे संसार जित्न सकिन्छ भन्ने मान्यता छ । जसले मेहनत गर्छ उसले भविष्यमा दुखः गर्नु पर्दैन । यहि उक्तिलाई चरितार्थ पारेकी छन धरानकी मिना कुमारी चौधरी (खड्गी) ले ।
रातको २ बजे धेरैका आँखा खुलेकै हुदैन, श्रीमानले ओछयानबाट ‘उठ, उठ’ भन्छन, आङ् तान्दै उठ्छिन, हात मुखमा पानीको फोहोरा हाल्छिन । त्यसपछि श्रीमानले नै भानुचोक ल्याइदिएर छोडिदिन्छन उनलाई । र, सुरु हुन्छ उनको जीवन यात्रा । स्टोभ बाल्छिन, एउटा च्यादानी झिक्छिन् र चिया पकाउन थाल्छिन् । यो मिनाकुमारीको दैनिकी हो । धरानको भानुचोकमा एकदिन हैन वर्षौ भइसक्यो उनले चिया बेच्न थालेको ।
चैत बैशाखको गर्मी होस् वा पुस माघको कठ्याङ्ग्रीने जाडो नै किन नहोस । मिना कुमारी रातको २ बजेदेखि नै यसरी चिया पकाएर विक्रि गर्छिन् । उनको जीवन चिया बेचेरै चलिरहेको छ । भानुचोकको घण्टाघर छेऊमा रातमा चिया बेच्ने मिना कुमारी जस्तै आधा दर्जन महिला छन् । जसको कथाले आम जनमानसलाई भाव विह्वल बनाउने गर्छ ।
null
जिन्दगी चलाउन दिनरात नभनी चिया बेच्नु मिनाको रहर हैन बाध्यता हो । भानुचोकमा २ बजेदेखि पूर्व देखि पश्चिम सम्म जाने गाडीको हर्नसँगै यात्रु तथा बसका कर्मचारीहरूको चहलपहल हुन्छ । सँगै पूर्व–पश्चिम जाने यात्रुहरुको आगमनसँगै मिनालाई ब्यस्त बनाउँछ ।
मीना कुमारीले चिया बेचेको झण्डै ७ वर्ष पुगिसकेको छ ।
‘दुःख त हुन्छ तर गरिखान के को लाज ?’ उनले मकालु खबरसँग भनिन् । ‘गरिखान के को लाज’ भन्ने मिना कुमारीको प्रतिप्रश्नमा धैर्यता र साहस देखिन्छ । ‘मलाई त्यस्ता मानिस देख्दा दिक्क लाग्छ, जो सिङगै हात खुट्टा भएर पनि हात पसार्दै माग्न हिँड्छन’ उनी भन्छिन् ।–‘सग्ला हातखुट्टा भएको म जस्ताले गरिखाएकै वेस, कसैको भर पर्नुपर्दैन ?’ उनी रातको २ बजेदेखि विहान ७ बजेसम्म सडक छेउमा चिया पकाउँछिन् । चियासँगै पाउरोटी, विस्कुट र अन्य सामान पनि बेच्छिन् ।
मिनाले चिया, बिस्कुट बेचेरै खर्च कटाएर दैनिक ७ सय देखि १७ सयसम्म बचत गर्छिन् । ‘एकनास त हुँदैन, सालाखाला सबै खर्च कटाएर दिनको ७ सय देखि १७ सयसम्म बचत हुन्छ । यसैले परिवार पालेकी छु, दैनिक ५ सय बचत पनि गरेकी छु ।’ आफ्नो पेशा प्रति गौरवान्तिक हुँदै मिना भन्छिन् ।
मिनाका अनुसार दुधको चिया भन्दा रातो (ब्ल्याक टी) मा नाफा बढि हुन्छ । ‘दुधको भाउ बढ्यो, चियाको बढेन, बरु कालो चियामा फाइदा छ ।’ उनी सुनाउछिन् ।सुरुसुरुमा उनलाई चिया बेच्न असाध्यै लाज लाग्थ्यो । विहानै उठ्नुपर्ने, चियाको कित्ली लिएर बस्नुपर्दा अफ्टेरो थियो । तर, ‘नगरी काम पुग्दैन खान साँझ र विहान’ भने जस्तै जिवन जिवन केहिन केहि गर्नै र्पथ्यो । आफु जस्तै अन्य महिला पनि सडकमा चिया बेच्न बसेको देखेपछि विस्तारै उनको लाज हरायो । ‘शुरुमा काम गर्न लाज लाग्थ्यो । अल्छी पनि लाग्थ्यो, पछि बानी बन्दै गयो । अहिले यसैले जिवन चलेको छ । अब लाज हरायो ।’ उनी भन्छिन् ।
आफनो मर्जीले चल्ने यो व्यवसाय प्रति उनी निकै सन्तुष्ट छिन् । आफूले बनाएको चिया ग्राहकले स्वाद मानेर खाँदा मिनालाई आनन्द लाग्छ । उनीकहाँ नियमित चिया खाने ग्राहकको संख्या धेरै छ । ‘सफा सुघ्र गरेर मसला मिसाएर बनाएको चिया धेरैले मन पराउनु हुन्छ । बिहानैदेखि व्यस्त हुनेहरूलाई हाम्रो व्यापारले सजिलो बनाएको छ’,उनी भन्छिन् ।
चिया बेचेरै उनले दुईजना छोरा (मनोज र सुमन) लाई राम्रो विद्यालयमा पढाएकी छिन् । श्रीमान् दीप खड्गी बिहान सबेरै उठेर टेम्पो चलाउँछन् । टेम्पोबाट पनि केही बचत हुने उनको भनाई छ ।
धरान–३ मा बस्ने मिना दिउसो पनि खाली बस्दिनन् । धरान–३ मा उनले दिउसो ठेलामा चिया साथै पकौडा बेच्छिन् । ‘जागिर भन्दै दैनिक अरूको अह्रन खटनमा बस्नुभन्दा आफैं जाँगर चलायो भने काम र दाम दुवै पाईंदोरहेछ ।’ उनले भनिन्–‘यसमा कसैसँग बिदा मागीरहनु पर्दैन काम जसरी मन लाग्यो त्यसरी गर्न सकिन्छ । पैसा हात पर्न महिनाको अन्तिम दिन कुर्नुपर्दैन ।’ हास्दै भन्छिन् ।
वैदेशिक रोजगारीका लागि दिनहु जसो महिलाहरू विदेसिने क्रम बढिरहेको छ । उमेर भएका महिलाहरू अझै पनि विदेश गइरहेका छन् । तर, इच्छा र चाहना हुने हो भने नेपालमै पनि केही गर्न सकिन्छ भन्ने कुराको उदाहरण हुन् मिना ।
चिया बेचेरै उनले घडेरी किन्ने सपना बुनेकी छिन् । ‘बाटोमा चिया बेचेर केही हुन्छ र भन्ने आफन्तहरूलाई देखाउनु छ ।’
मिनालाई भानुचौकमा चिया बेच्न कहाँ सजिलो छ र, जब चियाको चुस्कि लिन ग्राहकको भिड लाग्छ धरान उपमहानगरपालिका नगर प्रहरी सिठ्ठी फुक्दै आइपुग्छन् । उनी हकार्दै उठाउँछन् । उनले दुखेसो पोखिन–‘काम गरिखानेलाई सरकारले पनि हेर्दोरहेनछ ।’
यसरी महिलाहरूले चिया बेचेर गुजारा गरिरहेको सामान्य लागेपनि यसले अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याइरहेको महिला अभियानकर्मी तारा शाक्यको भनाई छ ।