विप्लवको बन्द: प्रदेश १ मा लामो दुरीका गाडी चलेनन्, यात्रु अलपत्र

 

फागुन ३०, विराटनगर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव प्रदेश १ मा आंशिक रुपमा परेको छ । कार्यकर्ता पक्राउको विरोधमा विप्लव समूहले आह्वान गरेका बन्दका कारण प्रदेश १ का १४ जिल्लामा आंशिक प्रभाव परेको प्रदेश प्रहरी कार्यालय विराटनगर र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

बन्दका कारण प्रदेश अस्थायी राजधानी विराटनगर र आसपासका क्षेत्रको यातायात सेवा प्रभावित भएका छन् भने शिक्षण संस्थाहरु बन्द छन् । विराटनगरबाट छुट्ने लामो तथा छोटो दुरीका बसहरु पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । 

null

बिहान पश्चिमतर्फ जाने २–४ वटा बस सञ्चालन भएपनि पहाडी जिल्ला तथा काकडभित्ता जाने बसहरु सञ्चालनमा नआएको पूर्व नेपाल यातायात ब्यवसायी कम्पनीका शाखा इन्चार्ज किशोर धमलाले जानकारी दिए । 

 

बन्दका कारण सार्वजनिक सवारीका साधन सञ्चालनमा नआउँदा यात्रुहरुलाई सास्ती भएको छ । बिहानै बसपार्क सहित विभिन्न बस बिसौनीहरुमा पुगेका यात्रुहरु कोही हिडेरै गन्तब्य तर्फ लागेका छन् भने कतिपय घर फर्किएका छन् । 

विराटनगर क्षेत्रका सडकहरुमा मोटरसाइकल तथा साना सवारीसाधनहरु भने सञ्चालनमा आएका छन । इटहरी भएर पूर्वी पहाड जिल्लाहरु धनकुटा, तेह्थुम, भोजपुर लगायतका जिल्लाहरुमा चल्ने सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणहरुले सास्ती बेहोर्नु परिरहेको छ । 

यस्तै सुनसरी सदरमुकाम इनरुवा तथा दक्षिण क्षेत्रमा भने बन्दको प्रभाव सामान्य परेको देखिएको छ । सुनसरीमा सामुदायिक विद्यालयहरुमा स्रोत केन्द्र स्तरीय परिक्षा चलीरहेकाले परिक्षा सञ्चालन भएपनि संस्थागत विद्यालयहरु भने बन्द रहेका छन । बन्दका क्रममा सम्भावित दुर्घटना हुन नदिन बसपार्क सहित मुख्यमुख्य सडकहरुमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । 

 

उदयपुरमा सुतली बम 

उदयपुरको कटारी नगरपालिकामा दुईवटा सुतली बम भेटिएको छ । बिहीबार बिहान कटहरी गाउँपालिका– २ देवीधापस्थित शिवम मल्टिपर्स प्रालिको गेट अगाडिको रुखको फेदमा दुईवटा सुतली बम भेटिएको हो । 

शिवम मल्टिपर्स प्रालिले मारुती सिमेन्ट उद्योगका लागि चुनढुंगा आपूर्ति गर्दै आएको छ । बिहान करिब ६ बजे भेटिएको सुतली बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए । उदयपुर बेलसोतस्थित नेपाली सेनाको कालिसिद्धि इन्जिनियरिङ गणको टोलीले बम डिस्पोज गरेको थियो । 

बन्दले तेह्रथुम प्रभावित 

नेकपा माओवादी विप्लवले गरेको बन्दका कारण तेह्रथुमको जनजिवन प्रभावित भएको छ । बन्दका कारण तेह्रथुमबाट धरानतर्फ आउने लामो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । सवारी साधन नचल्दा यात्रुहरु बसपार्कमा नै अलपत्र परेका छन् । 

जिल्लामा रहेका म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, मोराहाङ, सक्रान्ति बजार आंशिक रुपमा बन्द रहेका छन् । जिल्लामा सुरक्षा सर्तकता बढाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी टेक बहादुर कार्कीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *