दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्युः भीरमा अड्किएका शव शनिबार विहान मात्र निकालिने


दार्चुला- दार्चुला तींकर सडकखण्डको राताकाठामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रविन्द्र कठायतले दिएको जानकारी अनुसार दार्चुला जिल्ला सदरमुकामबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जीप दुहु गाउँपालिका वडा नम्बर ३ राताकाठाको भीरमा खसेको हो।
शुक्रबार बेलुकी सवा ८ बजेतिर खसेको जीपमा सवार मध्ये ११ जनाको मृत्यु भएको र चालक दिपकसिह धामी गम्भीर घाईते अवस्थामा फेला परेका प्रहरी निरीक्षक रविन्द्र खडकाले जानकारी दिए।
null
उनका अनुसार तीन जना महिलाको शव सडकमा निकालिएको,चार जना महिला, तीन जना पुरुष र एक जना बालकको शव टर्च लगाएर भीरमा देखिएको बताए।
प्रहरी निरीक्षक खडकाले तीन जना महिला बाहेक अरु कसैको पनि शव निकाल्न सकिने अवस्था नरहेकाले शनिबार विहान मात्र शव निकालिने बताए। ‘राति भएकाले भीरमा जान सकिएन, तीन जना महिलाको शव निकाली सकिएको छ, चार जना महिला, तीन जना पुरुष र एक बच्चाको शव टर्च लगाएर देखिएको छ, आज निकाल्न सकिने अवस्था छैन’ प्रहरी निरीक्षक खडकाले भने।
गम्भीर अवस्थामा भेटिएका चालक धामीलाई भने जिल्ला अस्पताल दार्चुलाबाट भारतको पिथौरागढका लागि रेफर गरिएको उनले बताए। उद्धारका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थल पुगेपनि राती भएकाले भीरमा पस्न सकेको छैन।
जीप सडकबाट करिब ५ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ। अँध्यारो भएको कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
जीप सडकभन्दा झन्डै ५ सय मीटर तल खसेकाले चालक बाहेक अरु कोही पनि जिवित अवस्थामा नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
