आज १४ औं लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं, ११ वैशाख । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १४ औं लोकतन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । नारायणहिटी दरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृङ्खला चलाए । 

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए । शासन सत्ता आफ्नै हातमा लिएका ज्ञानेन्द्रले केही नेताहरुलाई जेल हाले । सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्कियो । राजधानी काठमाडौंमा मानवसागर उर्लियो । आन्दोलनमा दुई दर्जन बढीको ज्यान गयो । 

 

null

अन्ततः राजा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भए र जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे । आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले ०६३ वैशाख ११ गते राति संसद पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । त्यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । २०६३ जेठ ४ गते बसेको पुनःस्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्‍यो । २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आयो । 

यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गर्‍यो । लोकतन्त्र स्थापना भएको दिन वैशाख ११ र गणतन्त्र स्थापना भएको दिन जेठ १५ मा हुँदै आएको सार्वजनिक विदा भने वर्तमान सरकारले कटौती गरेको छ । 

कतिपयले यसको आलोचनासमेत गरेका छन् । सरकारले भने लोकतन्त्र, गणतन्त्रलाई संविधानले संस्थागत गरेकाले संविधान जारी भएको दिन २०७२ साल असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । लोकतन्त्र दिवसमा सरकारको तर्फबाट औपचारिक कुनै कार्यक्रम नगरिए विभिन्न संस्थाहरुले आफूअनुकुल कार्यक्रम आयोजना गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *