विप्लव समूहका नेता ओलीको बन्दी प्रत्यक्षीकरण सर्वोच्चद्वारा खारेज, अब थुनामै


चैत २७, काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओलीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।
गैरकानूनी रुपमा थुनामा राखेको भन्दै चैत १३ गते छोरी विपना वलीले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले बुधबार खारेज गरिदिएको हो । अब विप्लव समूहका मध्य कमाण्ड इन्चार्ज वली थुनामै रहनेछन् । प्रहरीले उनलाई थुनामै राखेर घटनाको अनुसन्धान गर्नेछ ।
null
नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको सञ्चार माध्यममार्फत् जिम्मा लिएका वलीलाई प्रहरीले चैत १० गते काभ्रेबाट पक्राउ गरेको थियो ।
यसअघि सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित अदालतमा हाजिर गराउन आदेश दिएको थियो ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेसँगै उनका नेता–कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् ।
प्रधानन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र विप्लव समूहका गतिविधि नियन्त्रण गरिसक्ने घोषणा समेत गरेका छन् । यता विप्लवले भने सरकारले प्रतिबन्ध नहटाए सरकारलाई नै प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको छ ।
