धर्म, संस्कृति माथि चोट पुग्ने काम भयो भने समाजले गलत बाटो लिन्छ: पशुपतिनाथका मुल भट्ट

काठमाडौं, ३० चैत्र । असत्यमाथि सत्यको विजय मान्दै कलियुगमा मानवका बल र बुद्धि दुवै मन्द हुँदै जाने र त्यसैले भगवान श्रीरामको चरित्रबाट धार्मिक, सांस्कृतिक र पारिवारिक जीवनमा श्रीरामको आर्दश सिकेर जन्म र मरणको क्षणमा समेत स्मरण गर्ने नाम नै श्रीराम भएको पशुपतिनाथ मन्दिरका मुल भट्ट रावल गणेश भट्टले उल्लेख गरेका छन् । 

शनिबार विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति, नेपाल विश्व हिन्दू महासंघ, पशुपतिनाथ भण्डारी सेवा समाज, श्री हिन्दु प्रतिष्ठान नेपाल र जय भोले शिव सेवा समाजले संयुक्त रुपमा श्री राम नवमी तथा विश्व हिन्दू एकता दिवसको अवसर पारेर आयोजना गरेको ‘मर्यादा पुरुषोत्तम भगवान श्री राम र आजको आवश्यकत्ता’ नामक प्रवचन कार्यक्रममा बोल्दै मूल भट्ट रावल भट्टले यस्तो बताएका हुन् । 

 

null

‘व्यक्ति, समाज र राष्ट्रका निम्ति श्रीरामको आदर्शलाई अवलम्बन गर्ने हो भने सुसंस्कृत हुनसक्छ । भगवान विष्णुको अवतार मानिएको श्रीरामको अलौकिक कार्य रामायणमा चर्चा गरिएको छ । त्यसैले सनातन धर्मालम्बीहरुले सबैभन्दा पाठ गरिने ग्रन्थ हो–रामायण । जन–जनको मनमा रामायणका आदर्श वचन सम्झना छ । तर, त्यसलाई हामीले जीवनमा प्रयोग गर्न सकेका छैनौं ।’ उनले भने । 

मूल भट्ट रावल भट्टले श्रीराम नीति, प्रीति (प्रेम) परमार्थ र सेवाशास्त्र (अहिलेको भाषामा राजनीति) का ज्ञाता रहेको जिकिर गरेका छन् । ‘श्रीरामले समाज धर्मको मार्गबाट चलाउन सकियो भने सुखी र मानव जीवनको आदर्श मूल्य हुने प्राप्त हुने पाठ सिकाउनुभएको छ ।’ उनले भने । 

विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष एवम् पूर्वमन्त्री डा. रामचन्द्र अधिकारीको सभापतित्वमा आयोजित उक्त प्रवचन कार्यक्रममा बोल्दै उनले श्रीरामका चार स्वभाव रहेको समेत बताए ‘श्रीरामका चार स्वभाव शान्त, शीतल, सौम्य र सरल चरित्रमध्ये एकमात्र आदर्शलाई हामीले जीवनमा अवलम्बन गरी अघि बढ्यौं भने तपाइ/हाम्रो जीवनले धन्य प्राप्त गर्नेछ ।’ उनले भने । 

मानव जीवनमा सबैभन्दा ठूलो र महत्वपूर्ण धन भनेको चरित्र भएकोपनि उनले उल्लेख गरे । उनले थपे,‘श्रीरामको निस्कलंक चरित्रलाई कसैले पनि प्रश्न उठाउन सकेनन् । परिवार, समाज र देशका लागि सत्तपात्र भएर कर्म र वाणीलाई शुद्ध गरि काम गर्ने श्रीरामको आवश्यकत्ता विश्व र भारत वर्षका क्षेत्रहरुमा सबैभन्दा बढि खट्किएको छ ।’ 

 

विकास र समृद्धिको कुरा गर्ने हो भने सबैभन्दा धर्म, संस्कृति र ज्ञानको संरक्षण भएपछि मात्र सोचेको कुरा सफल हुने उनको भनाई छ । ‘श्रीराम प्रज्ञा सेवक हुनका लागि दम्भ र घमण्ड त्यागेर सेवा भावले कर्तव्यपरायण भएको कथा हामीले सुनेका, पढेका र बुझेका छौं । तर, व्यवहारमा उतार्न सकेका छैनौं ।’ धर्म, संस्कृति, परम्परा र आस्थामाथि चोट पुग्ने काम भयो भने समाजले गलत बाटो अवलम्बन गर्नेपनि उनको तर्क छ । 

कार्यक्रममा ब्यांकेटेश्वर पिठाधिश श्री १००८ पदमधराचार्य स्वामी, सनातन हिन्दू धर्म शिरोमणि स्वामी राम बाबा, नेपाल विश्व हिन्दू महासंघका बरिष्ठ उपाध्यक्ष विजय निषाद, विश्व हिन्दू युवा संघका केन्द्रिय अध्यक्ष सागर थापा, पशुपतिनाथ भण्डारी सेवा समाजका अध्यक्ष केदारमान भण्डारी र सनातन धर्म संस्कृति संगठनका अध्यक्ष योगी पुष्पराज पुरुषलगायतले श्रीरामको महिमाको चर्चा गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *