सरकारविरुद्धको आन्दोलनमा विचार मिल्नेहरुसँग सहकार्य गर्छौँः राजकिशोर यादव


बैशाख २, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजकिशोर यादवले बहुमतको सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हासिल गर्नेतर्फ अग्रसर नभएको आरोप लगाउँदै उनले भने, ‘धेरै लामो समयपछि मुलुकले स्थिर र बहुमतको सरकार पाएको छ । तर, सरकारले सोहीअनुरुप काम गर्न सकेको छैन ।’
null
उनले २०७६ सालमा मुलुकको सर्वाङ्गीण विकास कसरी हुन्छ भन्नेबारे वैचारिक रुपमा बहस गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले पछिल्लो सरकारले वनको संरक्षण नगरी विनाश गरेको पनि आरोप लगाए ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालका नेताहरुको विचित्रको रोग भनेको नै मञ्च पाएपछि भाषण ठोक्ने भएको उल्लेख गर्दै नेपाललाई नेपालजस्तो बनाउनुपर्ने बताए ।
उनले भने, ‘हामी सिंगापुर र स्विट्जरल्याण्ड बनाउँछौं भन्छौं । तर, नेपाललाई नेपालजस्तो बनाउँछौं भनेर हामीले कहिल्यैपनि सार्वजनिक प्रतिबद्धता गरेनौं । यो अत्यन्तै दुःखदायी कुरा हो ।’
जनतालाई उत्तेजित पारेर नितान्त दलीय स्वार्थ पूरा गर्ने काम नेपालका दल र यसका नेताहरुबाट भएको उनको स्विकारोक्ति थियो । उनले भने, ‘नेपालको अहिलेको अर्थ राजनीति, सामाजिक अवस्था अत्यन्तै चिन्ताजनक छ ।’
यस्तै पार्टीको प्रसंग निकाल्दै यादवले राजपाले अब गर्ने आन्दोलनमा विचार मिल्नेहरुसँग सहकार्य गर्नेपनि जानकारी दिए । उनले भने, ‘बडो प्रतिकुलताको अवस्थामा पनि हामीले यो सरकारलाई समर्थन जारी राख्यौं । तर, एक वर्षसम्मपनि केही नभएपछि हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौं ।’
सरकारलाई सचेत गराउने उद्देश्यले नै हामीले दबाबमूलक कार्यक्रम अघि सारेका हौँ । हाम्रो आन्दोलनलाई परीणाममुखी बनाउनको लागि विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्छौं ।’
आफूहरु पार्टीको एकता महाधिवेशनमा जुटेको पनि जानकारी गराए ।
