जंगली हात्तीको आक्रमणबाट १३६ जनाको मृत्यु
बैशाख १६, चितवन । पछिल्लो १५ वर्षमा नेपालमा जंगली हात्तीको आक्रमणबाट १ सय ३६ जनाले ज्यान गुमाएका छन् ।
जंगली हात्ती संरक्षणका लागि निर्माण गर्न लागिएको कार्ययोजनाको सुझाव संकलन गर्न सोमबार चितवनको सौराहामा आयोजित छलफल कार्यक्रममा जंगली हात्तीको आक्रमणबाट १ सय ३६ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरिएको हो ।
null
जंगली हात्तीको आंतक सबैभन्दा बढी बर्दियामा भएको छ । बर्दियामा १५ वर्षको अवधिमा ३५ जनाले ज्यान गुमाएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले बताए ।
त्यस्तै झापामा २८ जनाले ज्यान गुमाउँदा चितवनमा ११ जनाले जंगली हात्तीको आक्रमणमा ज्यान गुमाएका छन् । सप्तरी र सिरहामा पनि ११–११ जनाले ज्यान गुमाएको तथ्यांक छ ।
हात्तीको विषयमा पिएचडी गरिरहेका पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रामका अनुसार उदयपुर, सर्लाही, सुनसरी र रौतहटमा ६, ६ जनाले ज्यान गुमाएका छन् । मोरङमा ४, बारामा ४, धनुषामा ५, कञ्चनपुरमा २, मकवानपुरमा १ जनाले ज्यान गुमाएको रामले बताए ।
नेपालमा २ सय भन्दा वढि जंगली हात्ती रहेको अनुमान छ । बर्दियामा १०२, चितवनमा ४० देखि ४५ ,झापामा १५, शुक्लाफाँटामा १२, कञ्चनपुरमा ४५ वटा जंगली हात्ती रहेको उनले बताए । जंगली जनावरको वासस्थान खण्डीकरण हुनु, अतिक्रमण हुँदा हात्ती र मानवबीच द्वन्द्व भइरहेको राष्ट्रिय प्रकृती संरक्षण कोष काठमाडौंका नरेश सुवेदीले बताए ।
नेपालमा लोपोन्मुख मानिएको जंगली हात्तीको संरक्षणका लागि राष्ट्रिय प्रकृती संरक्षण कोष, निकुञ्ज विभाग, उज्यालो नेपालले समन्वय गरेर कार्ययोजना बनाउँदै छ । सोही कार्ययोजना निर्माणका लागि चितवनमा सरोकारवालाहरुबीच राय सुझाव संकलन गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण भुर्तेलसहित सरोकारावालाहरुले बृहत् रुपमा सचेतनाका कार्यक्रम सञ्चालन गरेर हात्ती संरक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।