हुम्लामा अज्ञात रोग लागेर मृत्यु हुनेको संख्या ९ पुग्यो
बैशाख १५, हुम्ला । हुम्लामा अज्ञात रोग लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
हुम्लाको ताजाकोट गाउँपालिकामा पत्ता नलागेको रोगबाट अहिलेसम्म २ जना बालकसहित ९ जनाको ज्यान गएको हो ।
null
ज्यान गुमाउनेमा ताजाकोट गाउँपालिका वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल, सोही वडाकी ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ की ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका सञ्जिव थापा, ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठाल लगायत छन् ।
सोही गाउँपालिका–१, २ र ३ मा थुप्रै मानिस बिरामी परेको जनाइएको छ ।
सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा बिरामीको मृत्यु हुने गरेको छ । तर के रोग हो अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
९ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आइतबार बिहान औषधी र चिकित्सकको टोलीसहितको हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिएका छन् ।
ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उनको भनाइ छ ।