राजपाको महाधिवेशन कात्तिकमा, रेमश चौधरीको रिहाइका लागि देशव्यापी आन्दोलन गर्ने
बैशाख १३, जनकपुर । सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ ।
यसअघि बैशाखमा तोकिएको महाधिवेशन बारा–पर्सामा हावाहुरीले वितण्डा मच्चाएपछि छलफलका लागि पर्याप्त समय नपुगेको भन्दै राजपाले रोकेको थियो । बैशाख ८ देखि जारी पार्टीको पदाधिकारी बैठकले आज तय गरेको नयाँ मिति अनुसार २८ कार्तिकदेखि ३० कात्तिकसम्म महाधिवेशन हुनेछ ।
null
साथै बैठकले महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने गरी अध्यक्षमण्डल सदस्य महन्थ ठाकुरको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ।
समितिमा सर्वेन्द्रनाथ शुक्ल, मानधोज ब्लोन तामाङ्ग, मालामति राना थारु, राजकुमार थापा, केशव झा, रामलाल सुतिहार, हरेन्द्र यादव र अकवाल अहमद सदस्य रहेका छन् ।
यस्तै पार्टीले सरकारको रवैयाविरुद्ध देशव्यापी आन्दोलन गर्ने समेत निर्णय गरेको संयोजक शरतसिंह भण्डारीले जानकारी दिए ।
संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक, आफ्ना नेता–कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज गराउन, रेशम चौधरीलगायत हिरासतमा रहेका कार्यकर्ताको रिहाइको माग गर्दै राजपाले आन्दोलन गर्ने भएको हो । पार्टीले आन्दोलनमा मंहगी, कालोबजारी, भ्रष्टाचार जस्ता विषयलाई पनि समेट्ने बताएको छ ।
यसैगरी सर्वोच्च अदालतले सर्वोच्च अदालतले वंशजका आधारमा नागरिकता नदिन जारी गरेको आदेशप्रति पनि राजपाले आपत्ति जनाएको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २०५४ सालमा वितरण भएर ५८ सालमा सर्वोच्चले खारेज गरेको ३४ हजार भन्दा बढी नागरिकतका आधारमा थप नागरिकता नदिन जारी गरेको आदेशप्रति राप्रपाले आपत्ति जनाएको हो ।
सर्वोच्चको यस आदेशले राष्ट्रियतलाई कमजोर बनाउने र लाखौं नेपालीलाई अनागरिक बनाउने कार्य गर्ने राजपाको ठहर छ ।