तरुण दल सुनसरीले पनि बुझायो ज्ञापनपत्र: ‘बर्तमान सरकार अहिलेसम्मकै तानाशाही’
बैशाख १५, सुनसरी । नेपाली कांग्रेसले देशब्यापी रुपमा सुरु गरेको जागरण अभियान सफल पार्न नेपाल तरुण दल सक्रिय भएको छ । पार्टीको प्रमुख भातृसंगठन नेपाल तरुण दलले हिजो आइतबार देशभरमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
यसै सन्दर्भमा तरुण दल सुनसरी जिल्ला कार्य समितिले पनि हिजो नै जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीलाई ज्ञापनपत्र बुझाएको हो ।
null
ज्ञापनपत्र बुझाउँदै तरुण दल सुनसरी सभापति सिजन गुरुङले दुई तिहाईको सरकारले राज्यका हरेक निकायमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, तानाशाही प्रवृत्ति दोहोरिँदै गएको, महंगी नियन्त्रण गर्न नसकेको, सत्तारुढ पार्टीकै जिम्मेवार नेताहरुले सरकारी सम्पत्ति दोहन गरेको प्रति नेपाल तरुण दलको ध्यानाकर्षण भएको बताए ।
‘बर्तमान सरकार अहिलेसम्मकै तानाशाही भयो, मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा भ्रष्टाचारीलाई नै संरक्षण गर्न अगाडी बढिरहेको छ, सरकारको गैरजिम्मेवारपूर्ण ब्यवहारका विरुद्ध तरुण दल जस्तोसुकै आन्दोलन र शान्तिपूर्ण संघर्ष गर्न तयार छ ।’ सभापति गुरुङले भने ।
बुझाइएको ज्ञापनपत्रमा बर्तमान सरकारले संमृद्धिको ढोका खोल्नुपर्नेमा हाल संविधानले निर्दिष्ट गरेका जनताका मौलिक हक अधिकारहरु, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरणको सिद्धान्त र संबैधानिक सर्वोच्चताको उलंघन हुनु लोकतन्त्रमाथिको निर्मम प्रहार भएको ठहर गरिएको छ ।
ज्ञापनपत्रमा अहिले मुलुक आर्थिक रुपमै टाट पल्टिने अवस्थामा रहेको, संस्थागत भ्रष्टाचार बढेको, सार्वजनिक जग्गा सत्तारुढ दलकै शक्तिशाली नेताबाट निजिकरण हुनु, विदेशीका सन्तानलाई बंशजको आधारमा नागरिकता वितरण सुरु गर्दा तराईका जिल्लाहरुमा नागरिकता लिनेहरुको भिड बढ्नुले स्वतन्त्र राष्ट्रको पहिचान समेत गुम्न सक्ने अवस्था आएको दावि गरिएको छ ।
तरुण दलले देशमा भएका ठूल्ठूला भ्रष्टाचारहरु वाइडवडी खरिदमा भएको घोटाला, नेपाल टेलिकमको फोरजी विस्तारमा भएको घोटाला, बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा नामसारी काण्ड, एनसेलको पुँजिगत लाभकर काण्डमा समेत निष्पक्ष छानविन गरी दोषि उपर कारवाही गर्न माग गरेको छ ।
तरुण दलले देशमा बढ्दै गइरहेको हत्या, हिंसा, बलात्कारका घटना प्रति चिन्ता ब्यक्त गर्दै सरकार समक्ष जनताको जिउधनको सुरक्षाको माग गरेको छ ।