राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल र चीनबीचकाे सम्बन्ध उचाईमा पुग्छ : मन्त्री ज्ञवाली
बैशाख ९, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट पारे । उनले भने, ‘उहाँको भ्रमणपछि नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध थप नयाँ उचाईमा पुग्छ ।’
null
उनले अघि थपे, ‘राष्ट्रपतिको यो भ्रमणले सदियौँदेखि रहँदै आएको नेपाल–चीन सौहार्दपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने छ । चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुई पटक सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सुनाए । उनले भने, ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ फोरम, जहाँ सयभन्दा बढि राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुन्छन्, त्यसमा उहाँले दुईपटक सम्बोधन गर्नुहुनेछ । पहिलो उहाँले उद्धघाट्न सत्रमा उच्चस्तरीय भेलामा सम्बोधन गर्नुहुनेछ, र दोस्रो चिनियाँ राष्ट्रपति सि जिनपिङले सञ्चालन गर्ने राउण्ड टेबलमा सम्बोधन गर्नुहुनेछ ।’
मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्धिपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्नेपनि जनाए । उनले भने,‘त्यो दिन प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।’
त्यस्तै, मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले चीनको प्राचिन शहर र चिनियाँ राष्ट्रपतिको गृहनगरसमेत रहेको सियानको भ्रमण गर्ने कार्यक्रम रहेको समेत जनाए । उनले राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको र भ्रमणको दौरान प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्नेपनि जनाए । राष्ट्रपति भण्डारीको भ्रमण र भेटवार्ताले नेपाल–चीन सम्बन्ध अझै उचाईमा बढाउने विश्वास रहेको पनि मन्त्री ज्ञवालीले सुनाए ।
त्यस्तै, उनले नेपाल–चीन सम्बन्धमा अहिले कुनै समस्या नरहेको जिकिर गरे । उनले भने,‘हामीबीच सौहार्दपूर्ण र समझदारीपूर्ण सम्बन्ध छ ।’ चीनसँग जोडिएर नेपालले जसरी लाभ लिनुपर्ने थियो त्यो भने लिन नसकेको विगत मन्त्री ज्ञवालीले कोट्याए ।
उनले भने, ‘अब भने हामी चीनसँग सार्थक ?पमा आर्थिक लाभ लिनेगरि अघि बढ्छौं ।’ आफू यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँगको भेटवार्तामा नै नेपाल–चीन विकासको ‘फ्रेमवर्क’ तय भैसकेको पनि ज्ञवालीले सुनाए । उक्त ‘ट्रान्स हिमालयन मल्टि–डाईमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सिमा वारपार रेल, सडकहरु, बन्दरगाहाहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयहरु पर्ने उनले सुनाए ।
उनले भने, ‘यसअन्तर्गत अघि बढ्नको लागि हाम्रो प्रधानमन्त्रीको गत असारमा भएको भ्रमणमा पनि अझ कम्प्लिट बनाएका छौं ।’ हालै नेपालले चीनसँग बिआरआईअन्तर्गत आफूहरुले गर्न खोजेका कामका सूचीसमेत आदान–प्रदान गरिसकेको उनको भनाइ छ ।
मन्त्री ज्ञवालीले भने, ‘त्यसमा हामीले अहिले छलफल सुरु गरेका छौँ । फण्डिङ मोडालिटी, लगानीको ढाँचा के हुनेछ ? कति अनुदानमा र कति सफ्ट लोनमा निर्माण होलान्, कति चिनियाँ लगानीकर्ताको प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत आउलान्, कति संयुक्त लगानीको रुपमा आउलान् ? कति बहुपक्षीय वित्तिय संस्थाबाट ऋण सहयोगबाट आउलान्, कुन–कुन परियोजना कुन मोडालिटीमा गर्ने भन्नेबारे अहिले हामी एकदमै सघन छलफलमा छौं ।’
उनले आफूहरुले अघि सारेका सबै योजनाहरु र त्यसभित्र केरुङ–काठमाडौं रेल उच्च प्राथमिकतामा रहेको सुनाए । उनले भने, ‘त्यसको प्रि–फिजिविलिटी अध्ययन सकिएको छ । सम्भवत हामी फिजिविलिटी अध्ययन र यसको निर्माण कार्य सुरु गर्न सक्नेगरि निश्कर्षमा पुग्न सक्छौं भन्ने मलाई विश्वास छ ।’
त्यस्तै, कोशी, कालगण्डकी र कर्णाली आर्थिक कोरिडोर जसभित्र सडक र विभिन्न उत्पादनका पकेटहरु र त्यहाँको जनताको जीवनस्तर माथि उठाउने कुराहरुलाई पनि आफूहरुले अगाडि बढाएको मन्त्री ज्ञवालीले विश्वास दिलाए ।
मन्त्री ज्ञवालीले योग्य जनशक्तिको निर्माण गर्नु अहिलेको आवश्यकत्ता रहेको सुनाउँदै त्यसको लागि प्राविधिक र वैज्ञानिक शिक्षामा केन्द्रित रहेको बहुआयामिक विश्वस्तरीय विश्वविद्यालय बनाउन चाहेको पनि सुनाए । उनले भने, ‘त्यो विश्वविद्यालयमा बिआरआई परियोजनाअन्तर्गत सय वटा त्यस्ता विश्विद्यालयहरु बनाउने सोच पनि छ । त्यसमा नेपालले त्यो ढंगले सहकार्य गर्न चाहेको छ ।’
राष्ट्रपति भण्डारीको यो भ्रमणमा चीनसँग सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्न लागेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने, ‘त्यो प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालका उत्तरी नाकाहरु उपयोग गरेर चीनको जुनसुकै बाटो प्रयोग गरेरपनि हामीले चीनका चारवटा समुन्द्री बन्दरगाह र तीन वटा सुख्खा बन्दरगाहा प्रयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछौं । र, त्यसले हाम्रो पारवहन सुविधालाई विविधता बनाउन र एकपक्षीय निर्भरता अन्त्य गर्न एउटा ठूलो भूमिका खेल्नेछ ।’
यसका अलवा अन्य थुप्रै समझदारीपत्रहरुमा हस्ताक्षर गर्न लागेको र उपयुक्त समयमा जानकारी गराइने उनले विश्वास दिलाए ।
मन्त्री ज्ञवालीले आगामी मे महिनामा तातोपानी नाका खुल्ने जानकारी गराए । उनले भने, ‘उताबाट तिव्र रफ्तारमा काम भैरहेको छ । उताको सुख्खा बन्दरगाहाको करिब–करिब ९८ प्रतिशत काम सम्पन्न भैसकेको छ । नेपालले कस्टम, क्वारेन्टाईन र ईमिग्रेशनलगायतका सुविधाहरु राख्दैछ । मितेरी पुल अन्तिम चरणमा पुगेको छ ।’
आफूहरुको मुख्य विदेश नीति नै सबैसँग मित्रभाव राख्ने र कसैसँग पनि वैरभाव नराख्ने रहेको सुनाउँदै मन्त्री ज्ञवालीले भने, ‘हामी कुनै क्याम्पमा छैनौं । हामी कुनै एक कित्तामा उभिएर अर्को कित्तालाई असर पार्नेगरि हाम्रा विदेश नीतिलाई सञ्चालन गर्दैनौं । हामी सन्तुलित र सबैसँग मित्रतापूर्ण सम्बन्ध अघि बढाउँछौं ।’
नेपालको भविष्यप्रति चिन्तित हुने साथीहरुले त्यस्तो कुनै परोपकारी संस्था जसले शुन्य ब्याजमा र अझ पछाडि फर्काउनपनि नपर्ने कुरा देखाईदिन पनि उनले आग्रह गरे । अमेरिकाको विश्लेषण अर्थशास्त्रीयभन्दापनि आग्रहपूर्ण रहेको उनको टिप्पणी छ ।
उनले भने, ‘नेपालले के गर्न उपयुक्त हुन्छ र के हुँदैन् भन्ने कुरामा राम्रोसँग निर्णय गर्ने क्षमता नेपालसँग छ । र, नेपालले दक्षिण र उत्तर दुवैसँग ढोका खुल्ला राखेको छ । छिमेकी र उनीहरुको विकाससँग नजोडिइकन र उहाँहरुसँग अर्थपूर्ण विकास साझेदारी नगरीकन हामी समृद्ध हुँदैनौँ । नेपालको चिन्ता गर्ने सबैमा धन्यवाद छ । तर, नेपालको सर्वोत्तम हित के हो भनेर छनौट गर्न नेपाली जनता सक्षम र सिपालु छन् ।’
मन्त्री ज्ञवालीले आफ्नो १३ महिने कार्यकालमा नेपालको बाहृय सम्बन्धलाई नेपालको राष्ट्रिय हित हुनेगरि अझै बढि अनुकुल बनाउन र नेपालले तय गरेको विकासको परिकल्पनालाई सघाउन अनुकुल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सक्दो प्रयत्न गरेको सुनाए ।
उनले भने, ‘हाम्रा सम्बन्धहरुलाई औपचारिकतामा सिमित नगरी अर्थपूर्ण विकास साझेदारी अघि बढाउनको लागि सक्दो प्रयत्न गरेका छौं । त्यसका परीणामहरु पनि देखिएका छन् । विस्तारै नेपालको छबि विश्व परिदृश्यमा देखा पर्न थालेको छ । यो भिजिवल भएको छ । यो अडिवल भएको छ ।’
मन्त्री ज्ञवालीले भुकम्पपछिका वर्षहरूमा आफूहरूले लगातार ६ प्रतिशत ७ प्रतिशत आर्थिक वृद्धि र हाँसिल गरेको सुनाउँदै यो विकास आँफैमा द्वन्द्वपछिको सिक्न लायक विषय भएको स्पष्ट पारे ।
मन्त्री ज्ञवालीले श्रम गन्तब्य मुलुकहरुसँको कुरा पनि अर्को आयाम रहेको सुनाए । उनले भने, ‘गलत काम हनु नपाओस् र हाम्रा युवाहरुले सम्मानजनक काम पाउन र कमाएको रेमिट्यान्स सुरक्षित साथ घर आओस् ।’ त्यस्तै चौथो आयाममा संयुक्त राष्ट्रसंघ, क्षेत्रिय तथा बहुपक्षीय सम्बन्ध अगाडि बढाएको पनि उनले सुनाए ।
नेपालको आफ्नो छबी (प्रोफाईल) विस्तारै बढ्दो अवस्थामा रहेको उनको जिकिर छ । उनले भने, ‘नेपालले आफ्नो कुरा प्रष्टसँग भन्न नसक्ने हिजोको अवस्थालाई पछाडि छोडेर हामीले विकास प्राथमिकताका कुराहरु अघि बढाएका छौं ।’
नेपालले शान्ति प्रकृयाको काम मौलिक ढंगले सम्पन्न गरेको सुनाउँदै मन्त्री ज्ञवालीले भने, ‘शान्ति प्रकृयाका सबभन्दा अप्ठ्यारा कामहरु हामीले एकदमै मौलिक ढंगले गरिसक्यौं । लडाकुको व्यवस्थापन गर्यौँ ।’
संक्रमणकालिन न्यायका कामपनि हिजोकोजस्तै मौलिक ढंगले सम्पन्न गर्ने उनले जनाए । उनले भने,‘नेपालले नै यो समस्या समाधान गर्न सक्छ भन्ने कुराको प्रमाण प्रस्तुत गरिसकेको छ । नेपालको नेतृत्वदायी क्षमतामा विश्वास गर्न म सबैमा आग्रह गर्न चाहन्छु । नेपालप्रति सद्भाव र साथ राखि राख्न म आग्रह गर्न चाहन्छु ।’
चिनियाँ उच्चस्तरीय नेतृत्वको नेपाल भ्रमण छिट्टै हुनेमा आफूहरू आशावादी रहेको पनि उनले सुनाए । उनले भने, ‘उचित समयमा चिनियाँ उच्चस्तरीय राजनीतिक नेतृत्वको भ्रमण हुनेछ ।’
यही बैशाखको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने पनि उनले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीको भ्रमणको लागि औपचारिक गृहकार्य भैरहेको छ । दुवै देशको भ्रमण अत्यन्तै महत्वपूर्ण छ ।’
श्रीलंकामा हालै भएको श्रृंखलाबद्ध बम हमलाको घट्नाप्रति दुःख व्यक्त गर्दै श्रीलंकाली सरकार र जनताप्रति नेपालको सदैव साथर सहयोग रहने पनि मन्त्री ज्ञवालीको विश्वास छ ।
फरक प्रसँगमा उनले विप्लव समूहप्रति लक्षित गर्दै यथाशक्य चाँडो हिंसा परित्याग गरि शान्ति प्रकृयामा आउन आग्रह गरे । उनले भने,‘हामी उहाँहरूलाई स्वागत गर्न तयार छौं । तर, हिंसा स्विकार्दैनौं ।’