पार्टीभित्रको गुटबन्दीले दिक्क लगाइसक्योः शेखर कोइराला


वैशाख १, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमा गुट राजनीति मौलाएको बताएका छन् । इटहरीमा आयोजित जीपी फाउण्डेसनको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
‘पार्टीभित्र गुट राजनीति मौलाएको छ । तपाईंहरुलाई मात्रै हैन, हामीलाई पनि दिक्क लगाइसक्यो । राजनीति गर्ने व्यक्तिमा त संस्कार चाहिन्छ, संस्कार भएन भने राजनीति नगर्नुहोस्’, नेता कोइरालाले भने, ‘नेपाली काँग्रेसलाई बलियो बनाउन पार्टीभित्र गुट उपगुट भएर होइन, पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुपर्छ ।’
null
नेपाली कांग्रेस पछिल्लो समय गिरोहले चलेको उल्लेख गर्दै कार्यक्रममा कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पनि आलोचना गरे । ‘पार्टी सभापतिले कांग्रेसको अधिवेशन नै गर्दिन भन्नुहुन्छ, अधिवेशन भएन भने कांग्रेस झन् कमजोर हुन्छ,’ उनले भने ।
यस्तै उनले देशको राष्ट्रियता कमजोर भएको भन्दै सिके राउतका कारण प्रजातन्त्र खतरामा गएको बताए । कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन खोजेको आरोप लगाउँदै उनले भने, ‘सरकार हेर्दा बलियो देखिएपनि धर्मराएको छ, न्यायपालिका सरकारको कब्जामा छ । सरकार स्थिर छ, राजनीतिक अस्थिरता बढेको छ ।’
