नेतृत्व अभावमा रुमलिएको कांग्रेस र १४ औं महाधिवेशनको बाटो
यतिबेला नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर र अस्तब्यस्त अवस्थामा रहेको छ । पार्टी नेतृत्वको क्षमता अभाव, अदुरदर्शिता र निर्णय क्षमता अभावका कारण पार्टी इतिहासमै कमजोर भएको अवस्थालाई पार लगाउने एउटै बाटो भनेको महाधिवेसन नै हो । नियमित समयमा महाधिवेशन हुने हो भने १४ औं महाधिवेशनबाट पार्टीलाई पुनः पहिलेको अवस्थामा लैजान सकिन्छ ।
यसै सन्दर्भमा वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्व र रामचन्द्र पौडेल तथा कृष्ण प्रसाद सिटौलाको बार्गेनिङ्ग राजनीति देखि वाक्क भएका नेपाली कांग्रेस उदयपुरका एक कार्यकर्ताले देउवा विकल्पको अपील गर्दै आफ्ना नेतामा कस्तो गुण हुनुपर्छ भनेर सार्वजनिक अपील गरेका छन् ।
नेपाली कांग्रेसका नेताहरु भित्र देखिएको पहिलो समस्या हो नेतृत्व अभाव । विकल्पको उत्तम छनौट गर्न सक्ने, दुरदृष्टि, समय अनुसार चल्न सक्ने, उच्च नैतिकता भएको लोकतन्त्र र समाजवादको गहिरो ज्ञान भएको सर्वमान्य नेता नेपाली कांग्रेसमा देखिएको छैन ।
null
खास गरी स्व. गिरिजाप्रसाद कोइराला पछिको कांग्रेस नेतृत्वमा खड्कीएको मूल विषय यहि हो । अन्तराष्ट्रिय स्तरमा राष्ट्रिय स्वाभिमान वृद्धि गर्न सक्ने, पार्टीलाई विधि विधानबाट चलाउदै नयाँ युवाहरुलाई आकर्षित गर्न नीति तर्जुमा गर्न सक्ने, व्यक्तिगत इमान्दारिता, समाजका सबै पक्षलाई समेट्न सक्ने व्यक्तित्व पार्टी भित्र देखिएन । शिघ्रताका साथ राजनीतिक परिवेश बदलिँदै जान्छ ।
त्यो समयमा यथासिघ्र पार्टीलाई नयाँ दिशा दिन सक्ने, निर्णय लिन सक्ने व्यक्ति आजको कांग्रेसले खोजेको छ । उपयुक्त गुण भएको व्यक्ति ने.का. भित्र छैन त ? के ने.का. अब नेतृत्व बिहिन भएकै हो ? सभापति शेरबहादुर देउवाजीका निकट एक प्राध्यापकको बुझाइमा पार्टी सभापति देउवाको नजिक गलत मानसिकता बोकेका र ब्यक्तिगत स्वार्थ सिद्ध गर्नेहरुको जमातका कारण पार्टी कमजोर भएको हो ।
एक झुण्ड–तत्काल फाइदा कसरी लिन सकिन्छ भन्ने व्यक्तिगत स्वार्थको लागि देउवालाई प्रयोग गर्ने समुह छ ।
दुई आशावादी–मौकाको पर्खाईमा रहेका, सिद्धान्त विहिन, बाहीर बाहीर सामुहिक भावनाको रटान लगाउने, भित्रभित्रै ब्यक्तिगत स्वार्थ सिद्ध गर्ने । इमान्दार कार्यकर्ता–सभापति देउवा देखि वाक्क भएका तर, देउवा इतर समूह विभाजित भएको देखेर त्यता गयो भने भविष्य डामाडोल हुने सोचका साथ पिडित भएर पनि देउवा समूहमै बसेका छन् ।
यस्ता काम नलाग्ने र ब्यक्तिगत स्वार्थ बोकेका कार्यकर्ताकै कारण पार्टी कमजोर भएको बुझ्न कुनै आइतबार पर्खन पर्दैन ।
ब्यक्ति, परिवार र आसेपासेका निर्देशनमा पार्टीको सिद्धान्त, नियम कानुन, विधि विधान सबै दवावमा गर्ने देउवाको कार्यशैलीले पार्टीलाई ठूलो नोक्सान भएको छ । उनमा सैद्धान्तिक विचलन आएको छ, सबै ठाउँमा गिरोह निर्माण गरेका छन्, भागवण्डामा ‘कति चाहियो’ भनेर रामचन्द्र र सिटौलाजीलाई स्वयं देउवाजीले सोधेपछि उनीहरुले वार्गेनिङ्ग नगर्ने कुरै भएन । रामचन्द्रको बहुलठ्ठिपन, सिटौलाको स्वार्थको कोपभाजनबाट देउवा इतर गुट निस्किएर देउवा एक महीना पनि सभापतिमा रहन सक्दैनन् ।
जिल्ला सभापतिहरुले उठाएका सबै कुरा ने.का.लाई बलियो बनाउने खालका छन् । तरपनि इतर समुहमा एकता छैन । गुट–उपगुटमा विभाजित छन् । पार्टीलाई एक ढिक्का बनाउने उद्घोष गर्नेहरुमै एकता नहुँदा त्यो समुहमा जाँदा पनि कार्यकर्ता सुरक्षित देखिएन । धेरै साथीहरुको गुनासो यही छ, ‘देउवाजी सँग रहनु रहर होइन बाध्यता’ हो । यदि इतर समुह मिलेर योग्य उम्मेदवार छनौट गरे भने देउवा इतरका अधिकांश इमान्दार पार्टी प्रति वफादार कार्यकर्ताले देउवालाई छाड्नेछन् ।
अहिलेको नेपाली कांग्रेस भित्र कांग्रेसलाई अगाडी बढाउन एउटै योग्य ब्यक्ति छन्–डा. शेखर कोइराला । उनलाई पूर्वमेची देखि पश्चिम महाकाली सम्मका कार्यकर्ताको सुभेच्छा छ । यदी डा. कोइरालालाई १४ औं महाधिवेशनमा सभापति घोषणा गरिन्छ भने देउवा खेमाबाट धेरै नेताहरु आउँछन् । र, डा. कोइरालाले मात्रै छियाछिया भएको कांग्रेसलाई जोड्न सक्छन् ।
कांग्रेसलाई अब पहिलो पार्टी बनाउने हो भने नेतृत्व परिवर्तनको विकल्प छैन । अझैपनि देउवाकै नेतृत्व अथवा उनको इशारामा चल्ने ब्यक्तिलाई कांग्रेसको नेतृत्व दिइयो भने कांग्रेस अब इतिहासको पन्नामा मात्र सिमित हुने अवस्था देखिइसकेको छ । तसर्थ, कांग्रेसलाई ०४६ साल पछिको अवस्थामा ल्याउने हो भने, डा. शेखर कोइरालाको नेतृत्वको विकल्प छैन ।
देउवाजीलाई शक्ति चाहिएको छ, ने.का. होइन, उनले ने.का.लाई शक्ति आर्जन गर्ने माध्यम बनाएका छन् । उनलाई वीपी कोइराला को हुन्, भनेर सोध्यो भने भन्लान तर, वीपीले प्रतिपादन गरेको सिद्धान्त र ने.का.को सिद्धान्त र बर्तमान अवस्था बारे सोध्यो भने मुख बंग्याउँछन् । अनी कार्यकर्तालाई भन्छन्–‘अब वीपीको सिद्धान्त पुरानो भइसक्यो ।’
देउवाजीले कुनै पनि भाषणमा वीपी कोइरालाको सिद्धान्तको कुरा त परै जाओस, वीपीकै बारेमा खुलेर कुरा गरेको हामी कार्यकर्ताले सुनेको, देखेको छैनौं । देउवाले ‘कुन पद खाली छ, कसलाई शक्तिमा ल्याउँदा पैसा र पावर पाइन्छ’ भन्ने मात्र थाहा छ । पैसा बाडेर उनी पार्टीको सभापति भए । र, अब पनि १४ औं महाधिवेशनमा प्रतिनिधि किनेरै सभापति बन्ने सपना देखिरहेका छन् ।
वीपीको सिद्धान्तलाई पैतालाले कुल्चनेले अब ‘कांग्रेसलाई पहिलेकै अवस्थामा ल्याउँछु’ भनेर फोस्रो भाषण गर्दै गर्दा पत्याउने कार्यकर्ता पनि कांग्रेसमा छैनन् ।
यतिबेला ओली नेतृत्वको सरकारले जनता विरोधी क्रियाकलाप गरेको छ । कुशासन र भ्रष्टाचार ब्याप्त छ । कानुनी शासनको उपहास भएको छ । दिन दहाडै छोरी चेली बलात्कृत भएका छन्, मारिएका छन् । ब्यूरोक्रेसी बढेको छ । तथापि, ओली सरकारका विरुद्ध देउवाजी छाती फुकाएर बोल्न नसक्नुको अर्थ के ?
कतै उहाँ ओलीको बुइ चढेर कांग्रेसलाई ‘सती’ पठाउने ध्येयमा त हुनुहुन्न ! हैन भने, निरंकुशताको दोस्रो रुप नेकपा सरकारका गलत निर्णयमा पार्टीले सडक र सदन तताउँदा उहाँ किन बुढानिलकण्ठको आलिसान भवनमा चिर निन्द्रामा हुनुहुन्छ ? उहाँमा कांग्रेसका नेता कार्यकर्तालाई शक्ति सञ्चार गर्ने सोच विचार किन आउँदैन ?
देउवाजीको कुर्सी मोहको अर्को कारण हो परिवार मोह । उनी आफ्ना अघिल्तिर श्रीमती, भाइभतिजा साला साली नातागोता सदैव होउन् भन्ने चाहन्छन् र, तिनकै अघिपछि रहेर पार्टी चलाउने सोच राख्छन् । जवसम्म पार्टीमा परिवारवाद हावी रहन्छ कांग्रेस अगाडी बढ्न सक्दैन । देउवाले परिवारभन्दा बाहिर रहेर कार्यकर्ताका लागि पार्टी हाँक्नु आजको आवश्यक्ता हो । तर, देउवामा परिवारवादबाट टाढा रहेर निर्णय गर्न सक्ने आँट र क्षमता छैन ।
अब कांग्रेसीजनले भन्ने बेला आएको छ ‘देउवा जी विचार र सिद्धान्तको राजनीति गर्नुस, कार्यकर्ताको मनोभावना बुझ्नुस’ अहिले अधिकांश कांग्रेसीले नयाँ नेतृत्व चाहेका छन् । अधिकांश कार्यकर्ता कांग्रेस नयाँ शिराबाट अगाडी बढोस भन्ने चाहन्छन् । र, त्यसका लागि १४ औं महाधिवेशनबाट नयाँ भिजन सहितको नयाँ नेतृत्व आवोस भन्नु स्वभाविक हो ।
अबपनि देउवा पक्षको नेतृत्वलाई कांग्रेसको नेतृत्व दिनु भनेको कांग्रेसलाई काँशीमा सेलाए जस्तै हो । यो कुरा आज देउवाका अघिपछी गुणगान गाउँदै ब्यक्तिगत स्वार्थ पुरा गर्ने समुहले पनि बुझि राख्नु पर्दछ । १४ औं महाधिवेशन पछी कांग्रेसकै नेतृत्वमा दुई तिहाईको सरकार गठन गरी देशलाई समृद्ध बनाउने अभियान चलाउने हो भने डा. शेखर कोइरालाको विकल्प छैन । यस विषयमा सम्पूर्ण इमान्दार कांग्रेसीले किन नसोच्ने ?
लेखक राई नेपाली कांग्रेस उदयपुरका क्रियाशील सदस्य हुन् ।