आजबाट संघीय संसदको बर्खे अधिवेशन सुरु हुँदै

 

बैशाख १६, काठमाडौं । आजबाट संघीय संसद्का दुवै सदनको चौँथो बर्खे अधिवेशन सुरु हुँदैछ । 

गत ८ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रिय सभाको चौँथो अधिवेशन सोमबारदेखि सुरु गर्न आह्वान गरेकी थिइन् । सोही अनुरूप आजबाट बर्खे अधिवेशन सुरु हुने भएको हो । 

null

संसद् सचिवालयका अनुसार राष्ट्रपतिबाट आह्वान भएपछि बजेट अधिवेशनका रूपमा चल्ने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । 

आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको दुवै सदनको बैठकमा सहभागी हुनका लागि देशभरका सांसदहरू राजधानी आइसकेका छन् । गत १० चैतमा तेस्रो अधिवेशन सकिएपछि सांसदहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा जनताका समस्या बुझ्न र आगामी वर्षका योजनाको विषयमा छलफल गर्न गएका थिए । 

नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । राष्ट्रपतिले अधिवेशन आह्वान गरेपछि संसद्मा राष्ट्रिय दलको मान्यता पाएका चार दलले आआफ्ना दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदलाई सहभागिताका लागि आह्वान गरेका थिए । 

सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम आगामी २० वैशाखमै प्रस्तुत गर्ने गरी तयारी गरिरहेको छ । संविधानमै व्यवस्था भएअनुरूप सरकारले वार्षिक बजेट १५ जेठमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । साही अनुरूप गृहकार्य भइरहेको छ । सरकारका विभिन्न मन्त्रालयले बजेटको सिलिङ बनाउने कार्य गरिरहेका छन् । 

संघीय सांसदले पनि आ-आफ्ना क्षेत्रका विकास निर्माणका लागि चाहिने बजेट र योजना संसद्मा प्रस्तुत गर्न सक्नेछन् । 

चौथो अधिवेशनमा राष्ट्रियसभामा आठ विधेयक प्रस्तुत गर्ने तयारी छ । चार विधेयक राष्ट्रियसभामै उत्पन्न भएका हुन् । राष्ट्रियसभामा उत्पन्न विधेयकमा विज्ञापन नियमन, ज्येष्ठ नागरिक पहिलो संशोधन, नागरिक लगानी कोष र प्रशासकीय अदालतसम्बन्धी विधेयक छन् । 

यसैगरी, राष्ट्रियसभामा तेस्रो अधिवेशन समापनका दिन गत चैत १० गते दर्ता भएको प्रमाण र संघ प्रदेश र स्थानीय तह अन्तर सम्बन्ध व्यवस्थापन विधेयक रहेको छ । 

यसैगरी, राष्ट्रियसभामा विचाराधीन अवस्थामा रहेका दुई विधेयक छन् । खेलकुद विधेयक विधायन व्यवस्थापन समितिमा विचाराधीन छ । प्रतिनिधिसभाबाट पारित भई आएको राहदानी विधेयक विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सभामै विचाराधीन अवस्थामा रहेको छ । 

राहदानी विधेयक गत असोज ११ गते प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा आएको हो । नेपालको संविधान २०७२ को धारा १ सय ११ को उपधारा १ सय ५० मा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा गएको विधेयक दुई महिनामा पारित हुनुपर्ने व्यवस्था छ । दुई महिनामा पारित नगरे प्रतिनिधिसभाले टुंंगो लगाउन सक्ने अधिकार छ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *