‘कांग्रेसका नेताहरुले राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा अचम्म लाग्छ’
बैशाख ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुले राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा आफूलाई अचम्म लागेको बताएका छन् ।
सोमबार नेकपाको ७० औँ बार्षिकोत्सव समारोह तथा नेकपाको जिल्ला कमिटीका अध्यक्ष र सचिवहरूको घोषणा गर्न राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
null
‘आज कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरु अझै पनि राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा मलाई अचम्म लाग्छ’, प्रधानमन्त्रीले भने, ‘कुनै पनि लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त सही हो भनेर जन्मिँदै मेरो शासक भइदेउ भनेर निवेदन हाल्दैन ।’
लोकतन्त्रवादी कांग्रेस लोकतान्त्रिक शक्तिसँग मिल्नुपर्ने धारणा राख्दै प्रम ओलीले भने, ‘मिलेर अघि बढ्न सक्थ्यो। धेरै दबाव दिएमात्र, बाध्य पारेमात्र सहकार्यक गर्ने, प्रतिक्रियावादी शक्तिसँग घाँटी जोड्ने गलत नीति कांग्रेसले लियो। अब त्यो बाटो लिनुहुँदैन ।’
राणाविरुद्ध, राजाविरुद्ध, पञ्चायत, असमानताविरुद्ध, थिचोमिचो र शोषणकाविरुद्ध लडेर आज सही ठाउँमा आएको उनकाे स्पष्टोक्ति थियो । साथै प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकीकरण पछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियतको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा पुर्याएको दाबी गरे ।