तपाई हामीलाई कस्तो प्रेस स्वतन्त्रता चाहिएको हो ?
नेपालमा केहि दिन देखि “प्रेस स्वतन्त्रता”का नारा चर्का हुन थालेका छन,यो हुनुपनि पर्छ । हरेक नागरिकले सहि सुचना दिन र लिन पाउनु पर्दछ, प्रेस स्वतन्त्रता हरेक नागरिकको सुसुचित हुन पाउने अधिकार भित्रै पर्दछ यसलाई कसैले नकार्न सक्दैन,नकार्नु हुँदैन ।
तर, यहाँ हामीले बुझ्नु पर्ने मुख्य कुरा के हो भने राज्य बाट आफ्नु अधिकार पाउनका लागि आफुले पनि राज्य प्रति अनुशासित भएर आफ्ना कर्तव्यलाई सहि पालन गरेको हुनुपर्ला नै हैन र ?
null
प्रेस स्वतन्त्रताको नारा लगाएर हिँड्ने साथी हरुले छातीमा हात राखेर भन्नु होला के नेपालमा सबै प्रेस सहि मार्गमा हिँडेको छ ? आज प्रेस स्वतन्त्रताको माग गरेर हिँड्ने सबै पत्रकारहरु आफ्नु पेशा प्रति अनुशासित छन् ? यदि छैनन् भने तिनलाई अनुशासित बनाउने कि नबनाउने ? कि प्रेस कार्ड झुन्डाएर आएको व्यक्ति लाई कुनै पनि नियम कानुन लागु नहुने हुनुपर्ने हो ? कि प्रेस भनेको अर्कै लोक बाट जन्म लिएर आएको अलौकिक बस्तु हो यस्लाई जहाँ जसो गरेपनि छुट हुनुपर्छ भन्ने हो ?
तपाई हामीलाई कस्तो स्वतन्त्रता चाहिएको हो ? कुनै पनि धार्मिक स्थलमा स्नान गरिरहेका नारीहरुको अर्धनग्न भिडियो खिचेर अनेकौं थमलाईन राखेर आफ्ना डिजिटल प्रेस माध्यम बाट सार्वजनिक गरि डलर कमाउन पाउनु पर्ने स्वतन्त्रता ? या दुर्घटनामा परेर आफ्ना आफन्त गुमाएका परिवार सँग मानवीय संवेदनालाई समेत ख्याल नगरी निधन कसरी भयो ? त्यो बेला तपाई के गर्दै हुनुहुन्थ्यो ? पहिलो पटक तपाईले कसरी थाह पाउनु भयो ? थाहा पाउँदा तपाईलाई कस्तो लाग्यो ? अब तपाई के गर्नु हुन्छ ? भन्ने प्रश्न गर्न दर्जनौं माईक तेर्स्याएर “खुल्यो ठुलो रहस्य” भन्दै डलर कमाउन पाउनु पर्ने स्वतन्त्रता चाहिएको हो ?
यदि हामीलाई चाहिएको स्वतन्त्रता त्यस्तो हैन भने हामी आफुले आफैं लाई पनि फर्किएर हेर्ने कि ? यस्ता खालका गलत गतिबिधि हाम्रो आँखा अघि भईरहँदा हामि त्यसको बिरुद्धमा कति बोल्यौ ?
मैले यसो भनिरहँदा सबै मिडिया र सञ्चार कर्मी उस्तै छन् भन्न खोजेको हैन, तर तपाई हामी आफ्नाे पेशा प्रति जिम्मेवार र ईमान्दार भईदिएको भए यो अवस्था आउने थिएन । हामीले यो अबस्था कसरी आयो भनेर समिक्षा गर्ने कि नगर्ने ? हामी प्रेसमा काम गर्ने हरु आफ्ना पेसा प्रति कति जिम्मेवार र ईमान्दार छौं भनेर आफैं लाई प्रश्न गर्ने हिम्मत हामि राख्छौं ?
राजनैतिक आडमा बसेर तिनैको गुणगाणमा दिन बिताउने पत्रकारहरुले आज हामीलाई प्रेस स्वतन्त्रता चाईयो, हामी माथि दमन भयो भनेर हातमा कालो पट्टि बाँधेर कुन नाटक मन्चन गरिरहेका छौं ? त्यो बेला तपाई हामीले गलत ढङ्ग बाट चलाएका कलमले कति मान्छेको जिबन वर्वाद भएको छ हामीले सम्झियौं ? आज तपाइँ हामीलाई पर्दा जति पिडा महसुस गरेका छौं हिजो तपाई हाम्रा प्रेस कै कारण भोगेका पिडा तपाई हामी अनुमान लगाउन सक्छौं ?
धेरै साथीहरुले “प्रेस लाई राज्यले हैन जनताले निगरानी गर्ने हो” भन्नु भएको छ । हो एकदमै सत्य हो, प्रेस लाई राज्यले मात्र हैन जनताले पनि निगरानी गर्छन । यदि हामी सहि छौँ भने । हामीले डराउनु पर्ने चाहि किन ? यदि हामीले सहि सुचना जनतालाई दिने गरेका छौं भने राज्यले हामीलाई कहिलै दमन गर्नै सक्दैन । यसका राष्ट्रिय अन्तराष्ट्रिय उदारणहरु छन ।
एक समय मलेसियामा रहेको एक राष्ट्रिय सञ्चार नेटवर्क (मलेसिया किनी) लाई सरकारले प्रेस कानुन उलंघन गरेको भन्दै तिराएको लाखौं रकम जनताले स्वत उठाएर बुझाई दिएका थिए ।
भने, नपालमा पनि ६२/६३ मा शाही सरकारले गरेको दमन विरुद्ध कान्तिपुर एफ एफ अगाडी मानब साँङ्ग्लो बनाएर बचाउ गरेका थिए । तपाईले दिएका सुचना सहि र निष्पक्ष हुने गरेका छन् भने जनताले प्रेस लाई कसरी जोगाउनु पर्छ जानेका छन् ।
म पनि प्रेस स्वतन्त्रताकै पक्षमा छु, तर स्वतन्त्रताको नाममा अहिले जस्तो छाडा तन्त्र प्रेसको पक्षमा कुनैपनि हालतमा रहन सक्दिन । ईमान्दार र जिम्मेवार प्रेस पेशाकर्मी साथीहरु प्रति सधैँ उच्च सम्मान छ रहन्छ तर, प्रेसको नाममा अराजक बन्नेहरु प्रति सधैँ बिपक्षमा रहने गर्दछु ।
आफ्नो पेशाको काम कर्तब्य ईमान्दार जिम्मेवार भएर बहन गरौँ, त्यसपछि पनि राज्यले हामीलाई अङ्कुस लगाउन खोज्यो भने जनताले हामीलाई साथ दिनेछन ।