‘मेरो सरकार’ गणतान्त्रिक मुलुकमा राजसी ठाँट

बैशाख २१, काठमाडौं । शनिबार संघिय संसदमा राष्ट्रपतिले सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग गरेको ‘मेरो सरकार’ शब्द प्रति चर्को आलोचना भएको छ । राजसंस्था रहँदा राजाले संसदमा संवोधन गर्दा प्रयोग गर्ने शब्दलाई सापटी लिएर गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवि भण्डारीले बारम्बार ‘मेरो सरकार’ ‘मेरो सरकार’ भनिरहँदा सर्वसाधारण मात्र हैन बौद्धिक जगत समेत आश्चर्य भयो ।  

यस अघिका संसदमा संवोधन गर्दा नेपाल सरकार, संघिय सरकार भनेर संवोधन गर्ने राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा राष्ट्रपतिमा अहंकार भरिएको भन्दै चौतर्फि आलोचना भयो । राष्ट्रपतिको ‘मेरो सरकार’ मा प्रतिपक्षीले मात्र हैन सत्तारुढ दलकै नेता तथा सांसदले निको ठानेनन् ।  

कांग्रेसका युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, राजपा नेता लक्ष्मणलाल कर्ण, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेककिपाका सांसद प्रेम सुवाल समेतले राष्ट्रपतिको संवोधन प्रति असन्तुष्ठि जनाए ।  

null

 

सामाजिक सञ्जालमा त राष्ट्रपतिको दोहोलो नै काटिएको छ । फेसवुक, ट्विटरमा राष्ट्रपतिको ट्रोल नै चलेको छ । यसका अलावा बौद्धिक समाज समेत ‘मेरो सरकार’ संवोधन प्रति असन्तुष्ठ छ ।  

प्रधानमन्त्री कार्यालयका सल्लाहकार डा. राजन भट्टराईले आफुहरुले अन्तराष्ट्रिय सिको गर्दै ‘मेरो सरकार’ शब्द तयार गरेको भनेपनि राष्ट्रपतिलाई नसुहाएको भनिएको छ ।  

यस अघि संसदभवनमा सरकारको निती तथा कार्यक्रम संवोधन गर्न कारगेट सहित राष्ट्रपति निवासबाट नयाँ बानेश्वर आएकी राष्ट्रपतिले डेढ घण्टा सवारी जाम गराइदिँदा आलोचनाकी पात्र भइसकेकी थिइन् । नयाँबानेश्वर संसद भवन अघिल्तिर राष्ट्रपति आइपुग्दा एक घण्टादेखि जाममा परेका सर्वसाधारणले ‘राजसी ठाँट’को चर्को विरोध जनाउँदै लगातार हर्न बजाए ।  

यसअघि नेपाली सेनाको एक कार्यक्रममा भाग लिँन जाँदा नै विवादमा तानिएकी राष्ट्रपतिले संसदमा ‘मेरो सरकार’ भनेपछि झन विवादमा तानिएकी छिन् ।  

नेपालको राष्ट्रपति पद संम्मानीत सेरेमोनियल पद हो । तथापि, राष्ट्रपतिका पछिल्ला कृयाकलाप सेरेमोनियल भन्दा पनि कार्यकारी जत्तिकै भएका छन् । सार्वजनिक कार्यक्रममा जाँदा अघिपछि दर्जनौं सुरक्षाकर्मी सहित लावा लस्कर लिएर सर्वसाधारण जनतालाई चर्को घाम तथा मुसलधारे पानीमा घण्टौं सडकमा बस्न बाध्य पार्दा जनतामा राष्ट्रपति प्रति वितृष्णा बढेको थियो । सँगसँगै राष्ट्रपतिलाई अरबौंको हेलिकप्टर, करोडौंका कार र विलासी साधन दिने सरकारी निर्णयले पनि जनता माझ अलोकप्रिय बनायो ।  

 

हुनपनि, राष्ट्रपतिका पछिल्ला गतिविधिहरु अलोकप्रिय हुन योग्य नै छन् । विकासको पथमा भर्खरै बामे सर्न लागेको देशमा राष्ट्रपतिलाई राजसंस्थाको भन्दापनि चर्को विलासिता प्रदान गर्नु कुनैपनि हिसाबले सुहाउने कुरा थिएन ।  

जनतालाई न्यूनतम विकासका पूर्वाधार प्रदान गर्न असफल भएको सरकारले एक जना राष्ट्रपतिका लागि अरबौं खर्च गर्नु र राजसी ठाँट दिनु स्वभाविक पनि हैन । विश्वका विकसित देशका सरकार प्रमुख सामान्य साइकलमा सर्वसाधारण जसरी सडकमा हिँड्छन् । सार्वजनिक यातायात चढ्छन् । तरपनि उनीहरुको मान मर्दन भएको मानिदैन । विश्वका शक्तिशाली देशमा राष्ट्रपति पदबाट बाहिरिएपछि काम गर्छन् तरपनि उनीहरुमा हिनताबोध हुँदैन । तर, नेपालका राष्ट्रपतिलाई देवत्वकारण गर्दै पाउदेखि शिरसम्म पुजिन्छ नै पदबाट बाहिरिँदा समेत राजसी सुविधा दिइन्छ ।  

राष्ट्रपतिलाई बारम्बार विवादमा ल्याउनुमा राष्ट्रपतिको आफ्नै चाहना हो वा, सरकारको अथवा राष्ट्रपतिका आसेपासेको चाप्लुसी ! 

धेरैका आ–आफ्ना धारणा होलान् । तर, राष्ट्रपतिले जे गर्छिन् त्यहि विषय चैं विवादमा पर्नु सहि हैन । आलंकारिक राष्ट्रपतिलाई कार्यकारी बन्न प्रेरित गर्ने कार्य भइरहेको छ । आफ्नै नागरिकलाई दुखः दिएर घण्टौं सडकमा ठिङ्गुर्याएर हात्ति लस्के जसरी लावा लस्कर लिएर हिड्नु सोभनिय भएन ।  

यतिबेला राष्ट्रपतिका कृयाकलापले जनतामा राजसंस्थाको झल्को आएको छ । राजसंस्थाका अन्तिम राजा ज्ञानेन्द्रको सवारीमा जसरी कफ्र्यु लगाइन्थ्यो, त्यस्तै परिदृश्य राष्ट्रपति भवनबाट विद्या भण्डारी बाहिरिँदा देखिन्छ । गणतन्त्र नेपालको १३ वर्ष मै राष्ट्रपतिमा तानाशाही प्रवृत्ति देखा पर्नु लोकतान्त्रिक विधिको उपहास हो ।  

हुनत राष्ट्रपति आफैंले यस्ता प्रवृत्ति देखाएकी पनि हैनन् होला । उनका सल्लाहकार, सरकारका सल्लाहकार र निकायका काम कारवाहीले उनलाई विवादमा ल्याएको होला । तथापि, जसको नाम लिएर कार्य गरिन्छ, जस उसैले लिनुपर्छ । राष्ट्रपतिले मैले गरेको हैन भनेर भन्दैमा पनि यो विषय हराउने हैन । तसर्थ, राष्ट्रपतिलाई कसरी निष्कलंक बनाउन सकिन्छ त्यो विषय राज्यको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *