१ नं. प्रदेश राजधानीको किचलोः धरानलाई राजधानी बनाउन डेलिगेशन, बृहत् विराट प्रदेशको अवधारणामा सहमति जुट्ला ?

बैशाख २२, धरान । प्रदेश १ को राजधानी कहाँ राख्ने विषय पुनः तातिएको छ । प्रदेशको अस्थायी राजधानी विराटनगर राखिएसँगै सेलाएको राजधानी घोषणा विवाद पुनः हिजोबाट सडकमा आएको हो । भौगोलिक हिसाबले पूर्वका १४ जिल्लालाई नै पायकपर्ने स्थानमा प्रदेशको राजधानी हुनुपर्ने कुरा उठिरहेपनि यहाँका चार शहरले राजधानीको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । 

विगतको प्रादेशिक संरचनामा पूर्वाञ्चलको सदरमुकाम रहेको धनकुटा, पर्यटकीय शहर भएपनि राज्यको आँखामा सदैव पछि परेको धरान, भौगोलिक सुगमताले मेचीदेखि कोशी नदीसम्म सहज भएको इटहरी तथा राजनीतिक तथा औद्योगिक हिसाबले सम्पन्न विराटनगरले आ–आफ्ना तर्फबाट लविङ र आन्दोलन गर्दै आइरहेका छन् । 

 

null

चारवटै क्षेत्रले आ–आफ्ना दलिल पेश गरेपछि संघिय सरकारलाई पनि राजधानी कहाँ राख्ने द्विविधा बढेको छ । 

१ नं प्रदेशको राजधानी धरान हुनुपर्ने भन्दै अन्तिम अवस्थामा धरानबासीहरु सक्रिय भएका छन् । १ नं. प्रदेश संसदमा राजधानी र प्रदेश नामाकरण घनिभूत रुपमा उठेपछि धरानबासीहरु प्रदेशको राजधानी धरान नै हुनुपर्छ भन्दै एक भएका छन् । 

केहीदिन अघि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आबद्ध सङ्घीय लिम्बुवान मञ्चले धरानमा पत्रकार सम्मेलन नै गरी प्रदेशको राजधानी ऐतिहासिक विजयपुर क्षेत्रलाई घोषणा गर्न माग गरेको थियो । 

सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल लगायत कोही पनि प्रष्ट रुपमा धरानलाई राजधानी बनाउनु पर्छ भन्ने तर्फ लागेका थिएनन् । हिजो शनिबार अन्तिम अवस्थामा आएर धरान उपमहानगरपालिकाले सर्वपक्षीय छलफल आयोजना गरेको थियो । जुन छलफल बैठकले धरानमा राजधानी माग गर्दै सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । 

धरानमा प्रदेशका कुनैपनि संरचना नआउने लगभग निश्चित भएपछि नागरिक समाज र राजनीतिक दलहरू तात्तिएर आन्दोलनमा होमिन लागेका हुन । बैठकमा धरानमा राजधानी तोकिए जुनसुकै पूर्वाधारका तयार गर्नकालागि तयार रहेको धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । 

धरानका राजनीतिक दलका टोली आज आइतबार सभामुख, मुख्यमन्त्री, नेकपाको संसदीय दलका नेतालगायतलाई भेटेर धरानलाई राजधानी घोषणाको माग गर्दै मागपत्र बुझाउने र धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने निर्णय गरिएको थियो । 

उता विराटनगर महानगरपालिकाले प्रदेश नं १ को स्थायी राजधानी विराटनगर नै हुनुपर्ने निर्णय गरेको छ । महानगरपालिकाको शनिबार बसेको बोर्ड बैठकले नेपालको राजनीतिक, ऐतिहासिक, औद्योगिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शहर विराटनगरलाई स्थायी राजधानी बनाउनुुपर्नेमा जोड दिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेशस्तरीय बैठकले प्रदेश नं १ को राजधानी बृहत् विराट क्षेत्रभित्र निर्माण गर्न संसद्मा प्रस्ताव लैजाने निर्णय गरेपछि विराटनगर महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको बताइएको छ । 

बैठकले प्रदेशको राजधानी विराटनगर बाहिर लगेमा महानगरपालिकाको नेतृत्वमा आन्दोलन गर्ने बताएको छ भने राजधानी विक्रेन्द्रीकरण गर्ने र दीर्घकालिन रुपमा विराटनगरबाट राजधानीका सबै संरचना अन्यत्र सार्ने षड्यन्त्र भएको ठहर गरेको छ । 

यता इटहरी, विराटचौकलाई समेटेर राजधानी बनाइनुपर्ने माग पनि घनिभूत रुपमा उठेको छ । इटहरी १ नं. प्रदेशको मुख्य जक्सन भएको र भौगोलिक सुगमता, सुरक्षा र पूर्वाधारका हिसाबले पनि सबैको पहुँच सहज भएकोले इटहरीलाई नै प्रदेशको राजधानी बनाइनुपर्ने इटहरीका जनताको धारणा छ । 

प्रदेश १ को स्थायी राजधानी इटहरी हुनुपर्ने माग गर्दै इटहरीमा रहेका ५ राजनीतिक दलले सडकमै संयुक्त पत्रकार सम्मेलन समेत गरेर आफ्नो दावि प्रस्तुत गरे । पत्रकार सम्मेलनमा पूर्व एमाले, पूर्व माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल र राप्रपा संयुक्तको सहभागिता रहेको थियो ।इटहरी सुरक्षित र राजधानीको लागि आवश्यक पूर्वाधारयुक्त शहर भएकाले राजधानी बन्न उपय्ुक्त हुने उनीहरूको तर्क छ । 

यता तीन दिनदेखि विराटनगरमा जारी नेकपाको बैठकले प्रदेशको राजधानी वृहत विराट क्षेत्रको विराटनगरमा राख्ने र नामाङ्कन भने केही समयपछि तय गर्ने सहमति गरेको छ । नेकपाको शीर्ष तहका नेताले सर्वदलीय बैठक राखी प्रदेश १ को संसदमा सहभागी भएका दलका प्रतिनिधिको धारणा लिएका थिए । जहाँ विराटनगरबाहिर राजधानी बनाउनुपर्ने रायसहित नेकपा सम्बद्ध ३७ सांसदले हस्ताक्षर सङ्कलन गरेपछि नेकपाका नेतामा निर्णय लिन चुनौती थपिएको थियो । 

वृहत विराट क्षेत्रको अवधारणाका आधारमा प्रदेशको राजधानी राखिने संभावना बढेको छ । विराटनगर महानगरपालिका, इटहरी र धरान उपमहानगरपालिकासहित मोरङ र सुनसरीका १८ स्थानीय पालिका समावेश गरेर वृहत विराट क्षेत्र बनाइएको छ । 

धनकुटाले समेत प्रदेशको राजधानी हुनुपर्ने दावि गर्दै आएको छ । धनकुटाले यस अघि नै चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको छ । हिजैबाट धनकुटाले शशक्त आन्दोलन सुरु गरेको छ । 

धरान, इटहरी, धनकुटा र विराटनगरको आ–आफ्नै दावी भएपछि प्रदेश सरकारलाई पनि स्थायी राजधानी कहाँ कायम गर्ने अन्यौलता बढेको छ । प्रदेश संसदमा सांसदहरुले समेत आ–आफ्ना क्षेत्रमा राजधानी लैजान दवाव दिइरहेका छन् । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले आफुहरुसँग दुई तिहाईको बहुमत भएपनि सबैको अपनत्व हुनेगरी राजधानी घोषणा गर्न सहमति जुटाउने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *